कपुरकोट गाउँपालिकाले सामाजिक सुरक्षा वापतको सवा एक करोड रुपैयाँ बैंकमा पठायो

सल्यान– चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सल्यानको कपुरकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको लागि एक करोड १३ लाख ६८ हजार रुपैयाँ बैंकमा पठाएको छ । जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिलाहरुले पाउने गत साउन देखि कार्तिक महिना सम्मको सामाजिक सुरक्षा भत्ता सम्बन्धित बैंक हरुमा पठाइसकिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बिधवा महिलाले पाउने आर्थिक सहायता, क र ख वर्गका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता र दलित बालबालिकाहरुको लागि पोषण भत्ता पनि बैंकमा गैसकेको गाउंपालिकाका लेखाप्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका भित्र हाल एक हजार चार सय ८२ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरु रहेका छन ।

लेखा प्रमुख आचार्यका अनुसार ४६९ जना जेष्ठ नागरिक, १२५ जना दलित जेष्ठ नागरिक, २१२ जना जेष्ठ नागरिक एकल महिला, २५१ जना विधवा महिला, २२ जना क वर्ग र ६४ जना ख वर्गका अपांगता भएका व्यक्ती र ३४९ जना दलित बालबालिकाहरु रहेका छन । कपुरकोट गाउँपालिकाले गत वर्ष देखि नै बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार १४:३८