अझै एक साता पानी पर्ने सम्भावना छैन, हिउँदे बालीनालीकाे उत्पादनमा असर पुग्ने

काठमाडौं – यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन ।

पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ”, उनले भने ।

वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापर लागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताए । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ ।

 

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार १४:४२