जनशक्ति ब्यवस्थापन संगै वित्त ब्यवस्थापनमा पनि ध्यान दिएका छौँ : अध्यक्ष सेन

सल्यान- सामुदायीक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरुलाई सल्यानको कपुरकोटमा लेखा ब्यवस्थापन तालिम शुरु भएको छ । आधारभूत लेखा व्यवस्थापन सम्बन्धमा अनुशिक्षण गर्नका लागि कपुरकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले दुई दिने तालिलमको आयोजना गरेको हो ।

बुधबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले तालिमको उद्घाटन गरेको हुन् । सो अवसरमा बोल्दै सेनले विद्यालयमा मानव जनशक्ति ब्यवस्थापन संगै आफुहरुले सार्वजनिक वित्त ब्यवस्थापनमा पनि ध्यान दिएको बताए । अध्यक्ष सेनले योजना र बजेट कार्यान्वयन, खरिद व्यवस्थापन, आन्तरिक नियन्त्रण, लेखांकन तथा वित्तीय प्रतिवेदन र सामाजिक तथा बाह्य लेखापरीक्षणका लागि आफुहरुले तालिमको आयोजना गरेको बताए । तालिममा सल्यान क्याम्पसका उपप्राध्यापपक मान बहादुर बुढाथोकीले सहजिकरण गरिरहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही, शिक्षा शाखाका श्रोत व्यक्ति कृष्ण भण्डारी लगाएतले बोल्दै विद्यालय शिक्षाको आर्थिक श्रोतलाई नेपाल सरकारको सरकारी श्रेस्ता प्रणाली तथा शिक्षा नियमावलीले तोकेका खाता तथा श्रेस्ता प्रणालीमा व्यवस्थित तवरले अभिलेखीकृत गर्नुपर्नेमा जोड दिएका थिए । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक पदम खड्काले गरेका थिए ।

 

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार १५:५३