
सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले यस वर्ष १२ वटा पक्की भवन निर्माण गर्ने भएको छ । जस अन्तर्गत कपुरकोट ५ मा रिम आयुर्वेदिक औषधालय भवनको निर्माण कार्य शुरु भएको छ । भवनको शुक्रबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सिलान्यास गरेका छन् । प्रदेश विशेष अनुदान तर्फबाट गाउँपालिकामा प्राप्त ४० लाख रुपैयाँको लागतमा सुम्नीमा निर्माण सेवा मार्फत ६ कोठे पक्की भवन निर्माण हुन लागेको हो । गाउँपालिका उपाध्यक्ष तिला बुढा, वडा नं ५ का वडा अध्यक्ष यम कुमार बस्नेत, गाउँपालिकाका लेखा प्रमुख विष्णु आचार्य, स्थानीय राजनितीक दलका प्रतिनिधी, समाजसेवी लगायतको सहभागीतामा भवनको सिलान्यास गरिएको हो ।
कपुरकोट गाउँपालिकाले यसै आर्थिक वर्षमा २ वटा वडा कार्यालयका भवन पनि निर्माण गर्न लागेको छ । यस्तै ७ वटा विद्यालयको भवन र ३ वटा गाउँघर क्लिनिकको लागि पनि भवन निर्माण हुने गाउँपालिका अध्यक्ष भिम बहादुुर सेनले बताए । ६०÷६० लाख रुपैयाँको लागतमा १ नम्बर र ६ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य शुरु भइसकेको उनले जनाए ।
यस्तै सरस्वति आवि जामुनेको ४ कोठे भवन, प्रावि क्युरेनीको २ कोठे भवन, सिद्ध बाबा बाल विकास केन्द्रको २ कोठे भवन निर्माण कार्य यसै वर्ष सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नेरामावि किमुचौर, जीवनज्योती मावि रिम, सिद्ध आधारभुत विद्यालय खालीको तला थप पनि चालु आर्थिक वर्षमा निर्माण हुँदैछन् । यस्तै कपुरकोेट ६ मा रातामाटा चौर गाउँघर क्लिनिक, डांग्री गाउँघर क्लिनिक र वडा नं ३ मा पाखापानी गाउँघर क्लिनिकको लागि पनि भवन निर्माण गरिने योजना शाखाले जनाएको छ ।
विकासको उदाहरणीय नमुना प्रस्तुत गर्ने हिसाबले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष सेनले बताए । प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंगको साझेदारी र समन्वयमा सुरक्षित भौतिक पूर्वाधार निर्माणमा लागि परेको उनको भनाइ छ ।
प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार १५:१५