सल्यानको छत्रेश्वरीमा सियुजि सेवा मार्फत पठनपाठन शुरु

सल्यान साउन ९ । सल्यानको छत्रेश्वरी गाउपालिकामा सियुजि सेवा मार्फत पठनपाठन शुरु भएको छ । पालिकाभरीका ४० विद्यालयमा रहेका कक्षा ४ देखि १० सम्मका चार हजार चार सय ३७ विद्यार्थिहरुले पाठशाला सियुजी सिम मार्फत पठनपाठन गर्न थालेको छत्रेश्वरी गाउपालिकाका शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत केशर वलीले जानकारी दिनुभयो ।

उहाँले सियुजि सेवा विहान ५ बजेदेखि वेलुकी ५ बजे सम्म सक्रिय हुने भएकाेले विद्यालय र शिक्षकले उपयुक्त कार्ययाेजना बनाएर सिकाइ सहजिकरण गर्ने बताउनुभयाे । कतिपय विद्यालयमा शिक्षकले प्रत्येक दिन कम्तिमा १५ जनासँग प्रत्यक्ष, जुम अथवा म्यासेन्जरबाट सिकाइ सहजीकरण गर्नुपर्ने कार्ययाेजना बनाएका छन् उहाँले भन्नुभयो अनलाइन सम्भव नभएको अवस्थामा फोन गरेर भए पनि सिकाइ सहजिकरण गर्नुपर्ने छ ।

साउनको शुरु देखि नै सियुजि सेवा मार्फत पठनपाठन गर्ने भनिएको भएपनि सिम सक्रिय हुन केहि समय लागेपछि कतिपय विद्यालयहरुले शिक्षकलाई पठनपाठन अघि बढाउनका लागी भ्वाइस तथा डाटा प्याक खरिद गर्नका लागी रकम समेत उपलव्ध गराएर पठनपाठन शुरु गरेका थिए । भौतिक रुपमा विद्यालय संचालन गर्ने वातावरण अझैँ बनिनसकेकोले सियुजि सेवा मार्फत गरिने पठनपाठनले विद्यार्थिको सिकाइ निरन्तरताको लागी प्रभावकारी भुमिका खेल्ने वलीले बताउनुभयो ।

यस अन्तर्रगत सदस्यहरुविच अनलिमिटेड भ्वाइस प्याक, शिक्षा मन्त्रालयको अनलाइन क्लासको पोर्टल https://learning.cehrd.edu.np/ संचालनका लागी ८ जिवि र अन्यका लागी १ जिवि, १०० एसएमएस र सदस्यहरुमाझ ३० एसएमएस गर्न सकिने सुविधा छ ।
यस्तै प्रारम्भिक कक्षाहरुको पठनपाठन टोल शिक्षा मार्फत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । वालविकास देखि ३ कक्षा सम्मको पढाइ टोल शिक्षा मार्फत गर्न भनेका छौँ शिक्षा अधिकृत वलीले भन्नुभयो प्रारम्भिक कक्षाका विद्यार्थिलाई सिकाउन अभिभावक वा अग्रजको सहयोगमा शिक्षकले अनलाइन वा अफलाइन सामाग्रीको सहायतामा शिक्षण अघि बढाउछौँ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ’विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा प्रस्तुत कार्यविधि अनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको क्लोज युजर ग्रुप (सियुजि) मा आबद्ध गराउने योजना रहेको थियो ।

सोही बमोजिम नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार ‘पाठशाला सियुजी सिम’ (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराएको थियो । सोहि अनुसार शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरिरहनु भएका नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए सेवाका प्रिपेड मोबाइल नम्बरहरु वा निःशुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरुलाई क्लोज युजर ग्रुप (सियुजि) मा आबद्ध गरेपछि पठनपाठनको काम शुरु भएको हो ।

सिम सक्रिय हुन वाँकी केहि विद्यालयका सिम पनि १/२ दिनमै सक्रिय हुनेछन् ।

प्रकाशित मिति: ९ श्रावण २०७८, शनिबार ०७:२६