कभर खबर

  • १५ श्रावण २०७८, शुक्रबार २०:०८

विभिन्न माग राख्दै शुक्रबार देशभर शिक्षकहरूको रिले अनशन

सल्यान साउन १५ । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु विभिन्न माग राख्दै शुक्रबार सल्यान लगायत देशभर रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज  शिक्षकहरूले एक दिने रिले अनशन  गरेका हुन् ।

महासंघ आवद्ध शिक्षकहरु देशभरिका स्थानिय तह, जिल्ला र काठमाडौँको माइतीघरमा अनशन बसेका हुन ।  सरकारले गरेको ३४ बुँदे सहमति कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटी अध्यक्ष तथा नेपाल शिक्षक महासङ्घ नगर कमिटी सदस्य रबिकिरण ओलीले बताउनु भयो ।

शिक्षकहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनशनमा बसेका हुन ।  करीब तीन हजार शिक्षक रिले अनशनमा सहभागी भएको महासंघले जनाएको छ ।

यसैगरी महासंघले साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय रहेको जनाएको छ । महासंघले बालुवाटारमा एक हजार शिक्षकको सहभागिता रहने दाबी गरेको छ ।

महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार २०:०८