
सल्यान
सल्यानका सबै स्थानीय तहले शैक्षिक प्रोफाइल र शैक्षिक योजना बनाउने भएका छन् । हाल सम्मको विद्यमान अवस्थालाई बृहत रूपमा समेटेर शैक्षिक प्रोफाइल बनाउने दार्मा गाउँपालिका का शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बताउनु भयो । यस्तै प्रोफाइल बनाएपछि पालिकाको शिक्षाको दीर्घकालीन लक्ष्य हासिल हुने गरी पालिका शिक्षा योजना बनाइने उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा स्थानीय तहले हासिल गरेका महत्वपूर्ण उपलब्धिलाई समेटेर विभिन्न शैक्षिक सूचकमा पालिकाको अवस्था झल्किनेगरी पार्श्वचित्र बनाउन लागिएको शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताउनु भयो । शिक्षा सँग सरोकार राख्ने सबैको सल्लाह बमोजिम योजना बनाउँछौं उहाँले भन्नुभयो वार्षिक रूपमा कति लक्ष्य हासिल भयो भनेर लेखोजोखा गर्ने परिपाटी समेत बसाल्छौं ।
नेपाल सरकारले यसै आर्थिक वर्ष देखि सल्यान जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागू गरेपछि कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रमको प्रमुख आतिथ्यतामा जिल्ला शिक्षा समिति सल्यानका अध्यक्ष तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केस बहादुर विष्टले गर्नु भएको थियो । उहाँले जग बलियो भएमा शिक्षाको आधार बलियो हुने भएकोले प्रारम्भिक कक्षाको पढाइ सुधारका लागि स्थानीय तहले बनाउने नीति केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम दोस्रोको प्राविधिक सहयोगमा भएको ५ दिने क्षमता विकास कार्यक्रममा पालिकाको सल्यानको १० वटै स्थानीय तहका शिक्षा शाखाका प्रमुख, सामाजिक विकास समिति का संयोजक र योजना अधिकृतहरुको सहभागिता थियो ।
कार्यक्रम माघ ५ गतेदेखि ९ गते सम्म सल्यानको श्रीनगरमा भएको थियो । कार्यक्रमको सहजीकरण प्रारम्भिक कक्षा पढाई कार्यक्रम दोस्रोका क्षेत्रीय प्राविधिक संयोजक उपेन्द्र भण्डारी, सल्यान जिल्ला संयोजक पुरुषोत्तम गिरी, सुर्खेत जिल्ला संयोजक डा. नरेश ढकाल र दाङ जिल्ला संयोजक हल्लु प्रसाद चौधरीले गर्नुभएको थियो ।
कार्यक्रमले जिल्लामा एकिकृत पाठ्यक्रममा आधारित प्रारम्भिक पढाइ कार्यक्रम सबन्धी शिक्षक तालिम, स्थानीय तहको शिक्षा शाखाको प्रणाली सुधार, शिक्षकको पेशागत सहयोग तथा कोरोना को समयमा शैक्षिक क्रियाकलाप सम्बन्धी गरिरहेको छ ।
प्रकाशित मिति: १० माघ २०७७, शनिबार ०६:४४