इरानको परमाणु प्रवर्धनमा अमेरिकी राष्ट्रपतिलाइ ब्रिटिश प्रधानमन्त्रीकाे साथ

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इरानको परमाणु गतिविधि सम्बन्धी हालको सम्झौतालाई प्रतिस्थापन गर्न अमेरिका र अन्य मित्र राष्ट्रहरूसँग मिलेर अगाडि बढ्न आफू इच्छुक रहेको बताएका छन्।

उनले अमेरिकाले समर्थन फिर्ता लिएको अहिलेको सम्झौतालाई यूकेले समर्थन गरिरहने बताउँदै भने, “यसलाई प्रतिस्थापन गरौँ र यसलाई ट्रम्पको सम्झौताले प्रतिस्थापन गरौँ।”

जोनसनले युरोपेली संघसँग यो वर्ष व्यापार सम्झौता हुने सम्भावना उच्च रहेको बताएका छन्।

यूकेको निर्वाचन पछिको पहिलो लामो टीभी अन्तर्वार्तामा बीबीसी ब्रेकफास्टका डान वाकरसँग जोनसनले ईयूबाट ज्यानुअरी ३१ मा बाहिरिएपछि यूके र ईयूबीच ‘गजब’को नयाँ सहकार्य हुने बताएका छन्।

इरानका बारेमा जोनसन

सन् २०१८ मा अमेरिकाले इरानका बिषयमा सन् २०१५ मा हस्ताक्षरित ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ बाट हात झिकेको थियो।

सो सम्झौतामा इरानले परमाणु प्रवर्धनको कार्य कम गर्ने, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निरीक्षण गर्न दिने र त्यसको बदला पश्चिमा देशहरूले इरानमाथिको व्यापारिक प्रतिबन्ध घटाउने कुरा थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सबैभन्दा खराब सम्झौता भनेपनि यूकेसहित चीन, फ्रान्स, रुस र जर्मनीले सहमतिको पालना गरेका छन्।

बीबीसीसँग जोनसनले यूकेको अडान नयाँ सम्झौता नभएसम्म कायम रहने बताए।

जोनसनले युक्रेनी हवाईजहाज खसालेर नराम्रो गल्ती गरेको भन्ने इरानको स्वीकारोक्तिबाट आफू खुसी भएको बताएका छन्।

उनले जेनरल कासिम सुलेमानी मारिएका सम्बन्धमा तनावलाई कम गर्न यूकेले खेलेको भूमिका परम्परागत भूमिका भएको बताएकाे बीबीसीले जनाएकाे छ ।

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार २१:१७