विकास बजेटले मात्र गर्ने होइन, दृढ इच्छाशक्ति र कुशल राजनीतिक एबं सामाजिक नेतृत्व तथा टिम स्पिरिट चाहिन्छ

अहिले यहाँले के गर्दै हुनुहुन्छ ?
अहिले कार्यकक्षमा कार्यालयको काम गरिरहेको छु ।
पछिल्लो पटक कोरोनको संक्रमण जिल्लामा व्यापक रह्यो तर पनि यहाँले आफनो गाउँपालिका भित्र त्यसलाई पुरै नियन्त्रण गर्न सफल हुनु भएको छ, यो कसरी सम्भव भयो ?
शुरुमा हामीले जनचेतनाको अभियान सञ्चालन गर्यौं, टोल टोलमा खोजी तथा निगरानी समुह गठन गरेर परिचालन गरियो। होम क्वारेन्टाइन, सामुदायिक क्वारेन्टाइन, पालिका क्वारेन्टाइनमा बाहिर बाट आएका नागरिकहरुलार्ई कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बसालियो । हाल सम्म गाउँपालिका भित्र १ हजार ३ सय २ जनाको पिसिआर जाँच गरिएको छ । पोजिटिभ देखिएका १८ जनालाई आइसोलेसनमा राखियो। यसका लागि चाहिने सम्पूर्ण सामग्री पालिकाले खरिद गरेर व्यवस्थापन ग¥यो । नाकामा कडाइ गरियो, लक डाउन सफल गरियो।अहिले विगत तीन महिनादेखि लगातार चौथो पटक पोजिटिभ रिपोर्ट देखिएका छैनन। लक्षण वाला बिरामी पनि कोही देखिएको छैन।अब लक डाउन खुलेसँगै जोखिम बढ्ने अनुमान गरिएको छ। यसका लागि पछिल्लो स्वास्थ्य प्रोटोकल र निर्देशन अनुसार काम गर्ने तयारी गरिएको छ।अहिलेसम्म अवस्था सामान्य छ, अब यसै भन्न सकिँदैन।
यो विचमा मान्छेहरु बाहिरबाट नि आएहोलान उनिहरुको सफल व्यवस्थापन कसरी गर्दा सम्भव हुने रहेछ ?
हाम्रो गाउँपालिकामा भित्रिने नाकाहरुमा हामीले स्वस्थ्य चेकजाँचलाई कडा पारेका थियौ । कुनै पनि नागरिक हाम्रो गाउँपालिकामा प्रवेश गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनु प¥थ्यो अझ हामीले जिल्ला बाहिरबाट आउने नागरिकहरु, भारत तथा तेश्रो मुलुकबाट आउने नागरिकहरुलाई सिधै क्वारेन्टिनमा वसाल्ने व्यवस्था गरेका थियौ । क्वारेन्टिनमा वसेर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कम्तीमा पनि ७ दिन होम क्वारेन्टिमा वस्ने व्यवस्था गरेका कारण पनि समुदायमा प्रत्यक्ष सम्पर्क हुन पाएन । यसका साथै स्थानीय सरकार, स्वास्थ्य कर्मी, सुरक्षाकर्मी र आम नागरिक मिलेर सचेतना र व्यवस्थापनलाई योजनावद्ध रुपमा लागु गर्न सफल भयौ जसले कोरोना संंक्रमण समुदायमा फैलिने अवस्था सिर्जना हुन सकेन ।
कोरना नियत्रणमा अन्य स्थानीय तहहरुमा प्रसस्त प्रश्नहरु उठिरहेका छन् तर यहाँहरुकोमा त्यति कुरा उठेको छैन, व्ययभार कम गर्न यहाँहरुले कस्तो कस्तो प्रक्रियाहरु अपनाउनुभयो ?
सरकाले लकडाउन घोषणा गर्दा हामी सवै अत्तिएका नै थियौ किनकी हाम्रो देशमा यो प्रयोग नयाँ पनि थियो तर पनि हामीले यसको सही व्यवस्थापन गर्ने जिम्मेवारी पुरा गर्नै पर्ने थियो । गाँउपालिका भित्र लकडाउनका कारण खाद्यान्न संकट तथा कालो बजारी हुनसक्ने खतरालाई मध्यनजर गरेर सहकारी संस्था मार्फत सुपथ मूल्य पसल सञ्चालन गरियो, सहकारीहरुलाई विधिसम्मत ढुवानी सहयोग गरियो। केही लत्ता कपडा, भाँडा र दाउरा काट्न जनताले पनि सहयोग गरे, दाताहरुले पनि सहयोग गरे, जनप्रतिनिधि, कर्मचारीको सेवा सुविधा र तलब भत्ता काटेर कोरोना राहत कोषमा जम्मा गरियो । क्वारेन्टिन रआइसोलेसन निर्माण र सञ्चालनमा जनताले ठूलो सहयोग गरे । हामीले यसमा आर्थिक मितव्ययितालाई पनि बिशेष ध्यान दिएका थियौ । गाउँपालिका भित्र आर्थिक अभावका कारण खाद्यान्न संकटमा परेका परिवारहरुलाई निशुल्क रुपमा खाद्यान्न पनि उपलव्ध गरायौ । जसले गर्दा सहज रुपमा हामीले छोटो समयमै पनि कोरोना संक्रमण नियन्त्रणका लागि सवै तयारी पुरा गर्न सफल भयौं ।
कोरोना संक्रमणको भय अझै वढि रहेको छ अहिले त यहाँको गाउँपालिका भित्र त कोरोना संक्रमितको संख्या शुन्य पुगि सकेको छ तर पनि यस विषयमा यहाँले आगामी रणनीति कसरी तय गर्नुभएको छ ?
हामीले अहिले पनि भारत, तेश्रो मुलुक तथा देशकै विभिन्न जिल्लाहरुबाट गाउँपालिका भित्र आएका नागरिकहरुलाई अनिवार्य कम्तीमा १४ दिन अलगै आफ्नै घरमा बस्ने, बीच बीचमा स्वास्थ्यकर्मीले स्वस्थ्य अवस्था जाँच गर्ने, लक्षण देखिएमा निशुल्क पिसिआर जाँच गर्ने, पोजिटिभ देखिएको खण्डमा होम आइसोलेसनमा राख्ने र उपचार गर्ने अबको रणनीति छ र स्वास्थ्य निर्देशन पनि त्यही छ । यसका लागि हामी र हाम्रो गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ ।
अव अर्को प्रसंगमा जाउँ यहाँले आफनो गाउँपालिकामा धेरै प्रसंसा गर्न लायक कार्यहरु गरेको भन्ने सुनिन्छ छोटकरीमा यहाँले अध्यक्ष हुनु भन्दा अगाडी र भइसकेपछिका परिवर्तन भन्न सक्नुहुन्छ ?
उल्कापात नै त गरे जस्तो केही लाग्दैन, भएको बजेट र श्रोत साधनको अधिकतम सदुपयोग गरेर तीब्र र दीगो विकासको जग बसाउने प्रयास भएको छ, विगत २०, ३० वर्षमा समेत हुन नसकेका काम गएको ३ वर्षमा गरेको मेरो सप्रमाण दावी छ।विशेष गरेर लिफ्ट प्रणाली खानेपानी, विद्युतिकरण, सडक निर्माण र स्तरोन्नति, स्वास्थ्य क्षेत्रको स्तरवृद्धि, दुग्ध विकास आदि गाउँपालिका भित्रका महत्वपुर्ण विकासका उपलव्धीहरु हुन् ।
यसका अतिरिक्त गुरुयोजना, आवधिक योजना, विस्तृत प्रगति प्रतिवेदन, डिजिटल प्रोफाइल आदि दीगो विकासका लागि अनिवार्य आवश्यक आधार स्तम्भ तयार गरिएको छ। सरकार सञ्चालनका लागि आवश्यक ऐन,कानून, नीति, विधि,नियम आदि बनाई कार्यन्वयन गरिएको छ।
तपाइले गरेका विकासका कार्यहरु समानुपातिक भएकै कारणले होला खासै विरोधको कुरा सुनिदैन यि मध्ये पनि सवै भन्दा राम्रो र गर्ने पर्ने कुन कार्य थियो ?
गाउँपालिका भित्र विकास निर्माणका योजनाहरु भौगोलिक अवस्था तथा समानुपातिक पद्धतिमा सञ्चालन गरिएको छ । हाम्रो गाउँपालिका केन्द्रीय विद्युतबाट धेरै टाढा थियो । यसका साथै हरेक वस्तीहरुलाई जोड्ने सडक सञ्जालन निर्माण गर्न अवाश्यक रहेको थियो । स्थानीय स्तरमा रहेका स्रोत साधनलाई अधिकतम सदुपयोग गरी स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना तथा शैक्षिक गुणस्तर सुधार तथा व्यवसायिक उत्पादनमा बृद्धि जस्ता कार्यहरु गरिएको छ । तर पनि यो प्रयाप्त छैन यसलाई बढाउन आवश्यक देखिन्छ ।
गाउँपालिका भित्रका सवै कार्यहरु समानुपातिक नै होलान यसको समानुपातिक वितरणमा यहाँले कस्ता कस्ता समस्याहरुको सामना गर्नुपरेको छ ?
विकास भन्ने कुरा यति भएपछि पुग्छ भन्ने हुने कुरा रहेनछ मानिसहरुलाई हरेक पछि अर्को सुविधाले सधै तानिरहन्छ तर पनि हाम्रो दार्मामा सवै कुरालाई समेटेर लिने अधिकतम प्रयास पनि गरिएको छ । गाउँपालिकाले गर्ने सेवा प्रवाहलाई सवै नागरिक समक्ष समानुपातिक ढंगबाट पुरयाउनका लागि गाउपालिकाले कुनै कसर बाँकी राखेको छैन तर पनि गाउँपालिका भित्र खण्डित वस्ती, चेतनाको विकास, निरपेक्ष समानताको माग, सिमित बजेट र साधन स्रोत असिमिति माग र आवश्यकता प्रमुख समस्याको रुपमा रहेका छन् ।
यो सव गरिरहदा तपाईलाई कुन कुराले बढि मन छोएको छ अथवा गाउँपालिकामा अध्यक्ष भइसकेपछि आफुले गरेका कार्यहरुबाट कुन कार्यले सवैभन्दा वढि सन्तोष महशुस गर्नुभएको छ ?
म गाउँपालिकामा निर्वाचित भएर आउनुपुर्वको अवस्थालाई मध्यनजर गर्ने हो भने अहिले भइरहेका सवै कार्यहरुबाट सन्तुष्टि लिने ठाउ देखेको छु । साविकको गाविस हुदा आउने बजेट, केन्द्र सरकारको नजरबभन्दा बाहिर परेको यस क्षेत्रमा संघियता लागु नभएको भए अहिले सम्म यहाँका जनताहरुले शायद सरकारको अनुभुति गर्ने थिएनन होला तर पनि यि मध्ये जहाँ खानेपानीको चरम संकट थियो, जहाँ विद्यिुतिकरणबाट बञ्चित हुनु परेको थियो यस्तो ठाउमा लिफट बाट खानेपानी र विद्युतिकरण अपेक्षाकृत अधिक सन्तोषजनक छन् । यद्देपी बजेट अभाव भएकै कारणले यसले गति लिन सकेको छैन
यहाँले विद्युतिकरणको कुरा गर्नुभयो । यहाँको गाउँपालिकाका सवै वस्तीहरुमा विजुली पुगिसकेको हो की अझै पुग्न बाँकी छ ?

अहिले हामीले गाउँपालिकाका सवै वडाकार्यालयहरु र आस पासका वस्तीहरुमा गत बर्ष देखि नै विजुली पुरयाएका छौ । सवै वस्तीहरुमा विजुली पुराउने चहाना हुदा हुदै पनि बजेट अभावका कारण काम अगाडी बढाउन सकिएको छैन । अझै पालिकालाई पुर्ण विद्युतीकरण गर्न कम्तीमाा पनि १२ करोड बढि बजेट आवश्यक पर्ने देखिन्छ ।
बाँकी भएको वस्तीहरुमा कहिले सम्म पु¥याउने लक्ष लिनु भएको छ ?
तिथिमिति मैंले र तपाईंले तोकेर हुने भए त यसै आर्थिक वर्षमा गर्न हुन्थ्यो, पहिलो समस्या सल्यनममा वजेट विनियोजन हुन समस्या, वजेट विनियोजन भयो भने टेन्डर गर्न धौ, टेन्डर आह्वान भयो, सम्झौता गर्न धौ, सम्झौता भयो, ठेकेदारले काम गर्न धौ। यस्तै छ चर्तिकला। तपाईं, म र जनता आत्तिएर के गर्नु दुई वर्ष पहिले टेन्डर भएको भर्खर काम सुरु हुँदैछ, जिल्ला भर विद्युतिकरण गर्न सल्यानको लागि यो वर्ष ६ करोड मात्र आएको छ, जबकि दार्मा गाउँपालिका मात्र पूर्ण विद्युतिकरण गर्न १२ करोड लाग्ने हाम्रो सर्वेक्षणले देखाएको छ, त्यो पनि अहिलेसम्म टेन्डर भएको छैन, प्रदेश सरकारबाट आएको ४ करोड पोहोरकै दायित्व वहन गनुपर्ने अवस्था छ ।
अव अर्कोप्रसंगमा जाउँ , यहाँ तत्कालिन जनयुद्ध हुदा भुमिगत राजनीति पनि गर्नु भयो ? आफनै सेना, सरकार पनि चलाउनु भयो अहिले फेरी पनि यहाँले शासन चलाइरहनुभएको छ यसमा यहाँले त्यतिबेला र अहिलेमा के भिन्नता पाउनु भएको छ ?

जहाँ भए पनि जनताको सेवा गर्ने हो, उतिबेला सेवा भाव प्रधान थियो, जनतादेखि कार्यकर्ता र नेतासम्म । अहिले मेवा भाव बढी छ सबैतिर । मेरो हकमा मैंले आफूलाई कुनै फरक महसुस गरेको छैन। आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म भएको साधन स्रोत र बजेटको अधिकतम सदुपयोग गरेर तीब्र र दिगो विकास गर्ने हो, जनताको सेवा गर्ने हो।समाजको हित हुने काम गर्ने हो।बस्, यसमै मलाई चरम आनन्दको अनुभूति हुन्छ।
युद्धताका यहाँहरुले प्रयोग गरेका अनुभवहरु अहिले शासन सत्ता सञ्चालन गर्नका लागि कत्तिको उपयोगी लागिरहेको छ ?
जरुर उपयोगी छन, जीवनोपयोगी ज्ञान,क्षमता र सीप जीवनका जुनसुकै कालखण्डमा कामयाब रहन्छन् । त्यतिबेलाको अनुभव र जनताहरुसंग गरिएको सहकार्यले आज पनि अगाडी बढ्न प्रेरणा दिएको छ । जनताका मुख्य समस्याहरु के छन भन्ने कुरा युद्धताका नि घरमै गएर बुझने कार्य गरिन्थ्यो अझ भन्नु पर्दा त्यतिबेला गरिएका धेरै अभ्यासहरुले आज हामीलाई पनि अव्वल बनाएको छ । जनताप्रतिको उत्तरदायित्व, जिम्मेवारी बोध, संघर्ष जस्ता कुराहरुको गहिरो प्रभाव अहिले पनि परिरहेको छ ।

अहिले यहाँहरुले सरकार सञ्चालन गरिरहदा आफैले निर्माण गरेका निति नियमहरु, पुरनो कर्मचारी संरचना, कागजी प्रक्रिया, बजेट अभाव जस्ता कुराहरुले कहिलेकाही समस्या ल्याउछन कि ल्याउदैनन ?
त्यही त समस्याको जड छ रमेश जी, सरकार बदलियो, प्रणाली बदलिन सकेन, ऐन ,कानून संविधानको मर्म अनुसार परिमार्जन नहुँदा ठूलो समस्या आएको छ।

यस्ता समस्याहरुको समाधान गर्नका लागि यहाको कुनै सुझाव सल्लाह छ कि ?
संविधानको मर्म अनुसार ऐन कानून परिमार्जन गरिनुपर्छ, कर्मचारीमा भएको विभेद र नोकरशाही तन्त्रको अन्त्य गर्न सक्नुपर्छ । विधि र प्रणालीमा सरकारका सबै संयन्त्र चल्नुपर्छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुनु अर्को मुख्य समस्या हो, यसको संवैधानिक व्यवस्था गरिनुपर्छ।
अव त तपाईको कार्यकाल पनि सकिदैछ गाउँपालिका भित्र यहाँले थुप्रै काम पनि गर्नुभयो तर पनि अव गर्ने पर्ने बाँकी कुनै काम छ की ?
विद्युतीकणको विस्तार, सडक संजालको स्तरीकरण, सिंचाई मार्फत् उत्पादन वृद्धि, कृषि पकेट क्षेत्रको विकास, स्वाथ्य र शिक्षामा आमूल परिवर्तन आदि गर्नैपर्ने मुख्य कामहरु अझै गर्ने पर्ने अवस्थामा रहेका छन् । अझै करिव डेढ बर्ष सम्मको कार्यकालमा कति पुरा गर्न सकिन्छ त्यसमै अहिले हामी लागिपरेका छौं ।
अन्तिममा यहाँले भन्न छुटाउनु भएको कुनै कुरा बाँकी छ ?

विकास बजेटले मात्र गर्ने होइन, दृढ इच्छाशक्ति र कुशल राजनीतिक एबं सामाजिक नेतृत्व तथा टिम स्पिरिट (समुह कार्य) चाहिन्छ । हरेक नागरिकको आफ्नो अधिकारका अलावा राज्यप्रतिको कर्तव्य र जिम्मेवारी पनि हुने गर्दछ।त्यसैले समृद्धिको बाटोमा हामी सबैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक छ।
यहाँले आफनो महत्वपुर्ण समय दिनुभएकोमा धन्यवाद ।
तपाईंलाई पनि धन्यबाद, दुरदराजका जनता र जनताका हामी जस्ता गुमनाम प्रतिनिधिका आवाज सौर्यदैनिकमा पुर्याउन महत्वपूर्ण भूमिकाका लागि।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close