के गर्दै छन कोरोना संक्रमण रोकथामका लागि जिल्लाका स्थानीय तहहरु

कभर खबर डेस्क ।

सल्यानमा कोरोना संक्रमण तिव्रगतिमा फैलिइरहेको छ । जिल्लामा निषेधाज्ञा जारी गरेको पनि १७ दिन पुरा भएको छ । तर पनि जिल्लामा कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या भने कम भएको छैन ।गत बर्ष लकडाउन भएको एक हप्ता नपुग्दै रहात वितरण गर्ने तथा आइसोलेसन तयार गर्ने कार्यमा तिव्र रुपमा लागेका जिल्लाका स्थानीय तहहरु दोश्रो चरणको संक्रमणका बेला सुस्ताएका मात्रै छैनन तयारी समेत अव्यवस्थित देखिएको छ ।

स्थानीय तहहरुले अक्सिजन सहितका आइसोलेसन तयार पारिएको भनिएता पनि शुरुका अक्सिजन सिलिन्डरहरु खाली भएपछि अक्सिजन अभावकै कारण आइसोलेसनमा संक्रमितहरु राख्न नसक्ने अवस्था देखिएको छ ।स्थानीय तहमा कोरोना संक्रमितहरुका लागि तयार गरिएका आइसोलेसनहरुमा न अक्सिजन प्रयाप्त मात्रामा छ न त दक्ष स्वास्थ्यकर्मी नै छन् । यस जटिल परिस्थितिमा स्थानीयतहहरुले संक्रमितहरुको उपचारका लागि उल्लेखनीय कदम चाल्न सकेका छैनन् ।

जिल्लाको बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि कठायतका अनुसार २५ शैयाको आइसोलेसन तयार गरिएको भएपनि आवश्यक अक्सिजनका अभावमा सञ्चालन गर्न सकिएको छैन । नगरपालिकाले नयाँ भवनमा तयार गरेको आइसोलेसनमा अहिले सम्म संक्रमितहरु रहेका छैनन । बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले ८ वटा अक्सिजन सिलिन्डर उपलव्ध गराएको र केही दिनमा ५ वटा अक्सिजन कन्सन्ट्रेटर आउने तथा जनशक्ति व्यवस्थापनको काम भइरहेकोले छिटै सञ्चालनमा आउने जानकारी दिनुभयो । दोश्रो चरणको कोरोना संक्रमणबाट बढि प्रभावित भएको नगरपालिकामा आइसोलेसन निर्माण नै ढिलो गरी गरिएको छ ।

यता बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयमा तयार गरेको १ सय शैयाको आइसोलेसनमा ५ वटा सिलिन्डरबाट अक्सिजन दिएर ५ जना संक्रमितहरुको उपचार गरिरहेको छ । स्थानीय तहमा अक्सिजन सहितका आइसोलेसन तयार पारिएको भएपनि अक्सिजन अभाव रहेको बनगाड कुपिण्डे नगरपालिकका स्वास्थ्य प्रमुख बासुदेव पोखरेलले जानकारी दिनुभयो । आफुहरु संग भएका अक्सिजन सिलिन्डरहरु खाली भएपछि भर्न निकै समस्या भएकोले अक्सिजन दिनुपर्ने संक्रमितहरुलाई राख्न नसकिने अवस्था भएको पोखरेलले जानकारी दिनुभयो ।

सदरमुकाम खलंगा समेत रहेको शारदा नगपालिकाले छुट्टै आइसोलेसन तयार गरेको छैन । नगरपालिकाको ५ लाख रुपैयाको सहयोगमा सल्यान परिसरमा नेपाली सेनाले तयार गरिरहेको २० शैयाको अक्सिजन सहितको आइसोलेसन भने अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । गत बर्ष जिल्लाकै लुहापिङ्ग मावि र क्याम्पसमा आइसोलेसन तयार गरिएको भएपनि यो बर्ष भने बनाइएको छैन ।

जिल्लामा रहेका ७ वटा गाउँपालिका मध्ये सिद्द कुमाख गाउँपालिकाले १०÷१० शैयाका आइसोलेसन बनाएको भएपनि न संक्रमित छन् न अक्सिजन नै । स्थानीय तहमा दक्ष जनशक्तिकै अभावका कारण गाउँपालिकामा भएका अक्सिजन सिलिण्डर सल्यान अस्पताललाई वुझाएपछि विरामी पनि अस्पतालमै रिफर गर्दै आएको सिद कुमाख गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत मार्शल वलीले जानकारी दिुनभयो । “स्थानीय तहमा न अक्सिजन छ न त दक्ष जनशक्ति नै त्यहि भएर हामीले हामीसंग भएका अक्सिजन सिलिन्डर समेत सल्यान अस्पतालमा दिएका छौ र विरामीहरु पनि त्यहि रिफर गर्दै आएका छौ” वलीले भन्नुभयो ।

यता त्रिवेणी गाउँपालिकाले भने अक्सिजन अभावकै कारण आइसोलेसन तयार गर्न सकेको छैन । अक्सिजन सिलिन्डर किन्ने तयारी भएपनि कतै नपाइएकोले आइसोलेसन तयार नगरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुले विरामीहरुका लागि प्रसुति गृहमा भएका अक्सिजन सिलिन्डर प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।

गत बर्ष कोरोना संक्रमणका बेला तदारुपता देखाएका कपुरकोट गाउँपालिका र दार्मा गाउँपालिका समेत यसपटक भने सुस्ताएका छन् । कपुरकोट गाउाँलिकाले २५ शैयाको आइसोलेसन तयार गरेको र त्यसमा ५ वटा अक्सिजन सिलिन्डरबाट विरामीहरुलाई अक्सिजन दिइएको भएपनि अक्सिजन सकिएपछि फेरी अक्सिजन भर्न नसकेकै कारण विरामीहरु आइसोलेसनमा नरहेको स्वास्थ्य शाखाका देवेन्द्र कुमार सेनले जानकारी दिनुभयो ।

स्थानीय तहहरुले निर्माण गरेका अइसोलेसनमा दक्ष जनशक्ति तथा अक्सिजन नभएपछि विरामीहरुको चाप यतिबेला अस्पतालमा देखिएको छ । जिल्लाको कालीमाटी गाउपालिकामा १५ शैयाको आइसोलेसनमा ४ वटा सिलिन्डर मार्फत अक्सिजन दिने तयारी गरिएको भएपनि हाल कुनै नि संक्रमित आइसोलेसनमा नरहेको कालीमाटी गाउँपालिकाका स्वास्थ्य प्रमुख गोरख बहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै १० वेडको आइसोलेसन रहेको कुमाख गाउँपालिकामा भने २ जना कोरोना संक्रमितको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । “पहिले अक्सिजन थियो र विरामी भर्ना गरेका थियौ अव अक्सिजन सकियो पत्रकारहरुले कतै ठाउ पत्ता लगाउनु भएको छ भने भन्दिनुप¥यो” कुमाख गाउँपालिका स्वास्थ्य प्रमुख मानसिंह वलीले भन्नुभयो ।

कोभिड अस्पताल सञ्चालन गर्दै छत्रेश्वरी गाउँपालिका

यद्देपी जिल्लाको छत्रेश्वरी गाउँपालिकाले भने कोरोना संक्रमितहरुको उपचारका लागि आफुलाई अब्वल सावित गरेको छ । २० शैयाको कोरोना अस्पताल सञ्चालन गरेको गाउँपालिकाले १० शैयाका लागि अक्सिजनको व्यवस्था गरेको गाउँपालिकाल जनाएको छ । जिल्ला अस्पताल सरहकै सुविधा उपलव्ध भएपछि संक्रमितहरु उपचारका लागि गाउँपालिका बाहिरबाट समेत संक्रमितहरु जाने गरेको छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराइले जानकारी दिनुभयो ।

डाक्टर सहित १० जना स्वास्थ्य कर्मी रहेको कोरोना अस्पतालमा अहिले ३० वटा अक्सिजन सिलिन्डर र ५ लिटर प्रतिमिनेट क्षमता भएका ५ वटा अक्सिजन कन्सट्रेटर रहेको गाउँपालिकाले जनाएका छ । गाउँपालिकाले अक्सिजन सहितका ३ वटा एम्वुलेन्स पनि तयारी हालतमा राखेको छ । “कोरोना संक्रमितहरुको उपचारको सन्दर्भमा छत्रेश्वरी गाउँपालिकामा रहेका संक्रमितहरुले आइसोलेसनमा कुनै समस्या नरहेको बताएका छन् ।

जिल्लामा कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला जिल्लाभर अस्पताल सहित १ सय २५ वटा सिलिन्डरहरु कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गरिएको छ भने १२ वटा अक्सिजन कन्सट्रेटरबाट अक्सिजन दिइरहेको छ । स्थानीय तह र अस्पतालमा अक्सिजन सिलिन्डर भएपनि अक्सिजन भर्न समस्या हुने गरेको सल्यान अस्पतालका कोरोना स्रोत व्यक्ति रिखाराम पुन बताउछन् । “अस्पतालमा मात्रै ६१ वटा सिलिन्डर छन् तर नेपालगञ्जमा २४ घंटामा १४ वटा मात्रै भर्ने गरेकोले समस्या भएको छ,” पुनले भन्नुभयाे ।

अहिले कोरोना संक्रमितहरु सिधै जिल्ला अस्पतालमा आउने भएकोले अस्पताल भरिभराउ भएको छ । अस्पतालले आकास्मिक बाहेक सवै सेवा बन्द गरेर कोरोना संक्रमितहरुको उपचार गरिरहेको छ । तर पनि अक्सिजन अभाव हुने हो कि भन्ने चिन्ता स्वास्थ्यकर्मीहरुलाई हुने गरेको छ ।जिल्लामा कोरोना संक्रमणबाट हाल सम्म २७ जनाको मृत्यु भइसकेको छ । हाल २७ जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ९६ जना भने होम आइसोलेसनमा वसेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलवार १६:३६