बनगाड कुपिण्डे समृद्धिका आधारहरु

इन्द्र बुढाथोकी

राज्यको पुर्नसंरचनासँगै सल्यान जिल्लालाई ३ नगरपालिका र ७ गाउँपालिका गरि १० वटा स्थानीय तहमा विभाजन गरियो । जसमध्ये बनगाड कुपिण्डे नगरपालिका एक हो । बनगाड कुपिण्डे नगरपालिका साबिक देवस्थल, बामे, मुलखोला, घाजरीपीपल, कुपिण्डे, माझकाडा र निगाल्चुला सहित सातवटा गाविसहरु मिलेर १२ वडामा विभाजन गरिएको छ । यसको आफ्नै मौलिकता, परम्परा, सँस्कृति र सम्पदा रहेको छ । राजनीतिक चेतना स्तरमा अरु भन्दा अगाडि देखिने बनगाड कुपिण्डे नगरपालिका विकास निमार्णमा पछाडी परेका देखिन्छ । संघीय संरचनासँगै स्थानीय सरकारको गठन भई सञ्चालनमा आएको छ ।

नगरपालिकाले ‘समृद्ध बनगाड कुपिण्डे, खुसी बनगाडी’ भनेर अगाडि सारेको छ । समृद्ध बनगाड निर्माण गर्नको लागि केही न केही बनगाड कुपिण्डेले गर्नैपर्ने देखिन्छ । परम्परागत कृषि पेशामा आवद्ध अत्याधिक जनसंख्याको प्रमुख आयस्रोत भनेको वैदेशिक रोजगार हो ।

प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरी स्थानीय स्तरमा रोजगारको वातावरण सिर्जना गर्न नसक्दा आज बनगाड कुपिण्डे बाट हजाराँै युवा विदेश पलायन भएका छन् । यसले गर्दा सामाजिक रुपमा समाजमा विकृति बढेको पनि देखिन्छ । समृद्ध बनगाड निमार्णको लागि कही गर्नै पर्ने कामहरु निम्नानुसार उल्लेख गरिएको छ ।

(१) वडाको पुर्नसंरचना

हाल १२ वटा वडाहरु मिलेर बनेको छ जहाँ सहज पहुँच बैज्ञानिक ढङ्गले भएको पाइदैन साविक गाविसहरुलाइ वडामा बिभाजन गरिएको छ भने केही टोलहरु समेटेर पायक पर्ने ठाउमा मिलाउनुको सट्टा पुरानै गाविसको संरचना अनुसार विभाजन गरिएकोले विकास निर्माण तथा स्रोत साधनको बाँडफाँडमा समस्या भएको देखिन्छ । यसलाई समायोजन नगरिए विकास निर्माणमा समस्या हुने देखिन्छ ।

(२) व्यवसायिक कृषि तथा पशुपालन ः

बनगाड क्षेत्रमा पाइने भौगोलिक विविधिताका कारण यस क्षेत्रमा फलफुल तथा नगदेबालीको प्रचुर सम्भावना रहेको छ । यस क्षेत्रमा आलू, बेसार, अदुवा, फलफुल, सुन्तला ओखर, कागती, स्याउ, आरुबखडा जस्ता फलफुलहरुका लागि पकेट क्षेत्रको रुपमा विकास गरी विकास गर्न स्थानीय सरकारले चासो देखाउनु जरुरी छ । यस्तै जडिवुटीको रुपमा टिमुर, सिस्नो, रक्त चन्दन, अलैची जस्ता नगदेबालीहरुको व्यवसायिक खेति गर्नका लागि स्थानीय तहले कार्ययोजना तयार गरी लागु गर्न सकेको खण्डमा यसले समृद्ध बनगाडको नारा साकार हुनेमा दुइमत छैन ।

त्यस्तै मध्यपहाडी भागमा सोही अनुसारको फलफुल र सिचाई उपलब्ध हुने तल्लो तल्लो भागमा व्यवसायिक तरकारी तथा केरा खेती गर्न सकिन्छ भने उन्नत जातको पशुपालन समेत एकिकृत प्रणालीमा गर्न सकिन्छ र सामुदायिक वनहरुमा वृक्षरोपण, फलफुल खेतीको विकास गर्न सके दोहोरो आम्दानी लिन सकिन्छ ।

(३) पर्यटनको लागि पूर्वाधार निमार्ण

बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा प्राकृतिक वरदान खासै देखिदैन तसर्थ पर्यटनको लागि विभिन्न पूर्वाधार निमार्ण गर्न आवश्यक छ । बनगाडलाइ दुई कलस्टरमा विभाजन गरी पर्यटन पथको तयार गरिनु पर्दछ । बालुवा सङ्ग्रही जयतपानी निगाल्चुला माझकाडा एउटा कलस्टर जसमा माझकाडामा सुन्तला, टिमुर, जयतपानी क्षेत्रमा स्याउ टिमुर, निगाल्चुलामा स्याउ, आलु, बाख्रापालन लाई व्यवसायीक तरिकाले अगाडि बढाउन सक्नु पर्छ भने पर्यटन कुपिण्डे ताल संरक्षण, होमस्टे, निगाल्चुलामा सिद्ध गुफा, दुरुमखोलामा चुलपुले गुफा र निगाल्चुला लेख पर्यटन आकर्षण लागि फलफूल बगैंचा बनाएर पर्यटन रुपमा बिकास गर्न सक्नु पर्छ ।

देवस्थल, बामे, मुलखोला घाजरिपिपललाई नगदे बालिको रुपमा आलु, अदुवा, वेसार, खेतीलाई व्यवसायिक तरिकाले गर्नुपर्दछ भने फलफुलको रुपमा घाजरीपिपललाइ सुन्तला खेति र पर्यटनको हिसाबमा तारुपारे लेखमा सिद्ध गुफा, होमस्टे, छहरे गुफा बनगाड खोला र सङ्ग्रही खोलामा व्यवसायीक तरिकाले तरकारी खेती गर्न आवश्यक देखिन्छ । देवस्थलको राताडाँडामा खेलकुद रंगशाला बनगाडीको पहिचान बनगाडी नाच संरक्षणकोलागि सास्कृतिक रंगशाला निर्माण गर्नु पर्दछ भने भेरी भेरी नदीमा ¥यापटिङ्ग व्यवस्था गराउन सकियो भने पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने देखिन्छ ।

(४) शिक्षा तथा खेलकुद

बनगाड कुपिण्डे नगरपालिका भित्रका सामुदायिक विद्यालयको स्तरबृद्धि गरी गुणस्तर कायम राख्नको लागि प्रा.वि. तहदेखि नै अंग्रेजी भाषाको माध्यमद्वारा पठनपाठन गर्नुपर्छ । माध्यामिक तहमा एक वडा एक प्राविधिक कार्यक्रम सञ्चालन गरी बहुमुखी क्याम्पसलाई बहुमुखी शंकायका साथै प्राविधिक विषयमा कक्षा सञ्चालन गर्न सकियो भने यसले शिक्षा क्षेत्रमा प्राविधिकधारको विकास गर्न सकिन्छ ।स्थानीय सरकारले कम्तिमा वर्षमा ३ जनालाई उच्च शिक्षाको लागि बाहिर पठाउने प्रवधान गरे दक्षजनशक्ति उत्पादनमा टेवा पु¥याउने छ ।

हरेक वडामा खेल मैदानको निमार्ण गरी गाउँपालिकामा एक प्रदेश स्तरको बहुउद्देश्यीय रंगशाला निमार्ण गर्न सकेको खण्डमा खेलकुदमा सहयोग पु¥याउदछ र एक स्वायत्त खेलकुद समिति बनाई स्थानीय खेलाडीहरुको सिप अभिबृद्धि लागि गर्नुपर्दछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्न र उपचारको लागि खेलकुद अक्षय कोष निमार्ण गर्न सकिन्छ ।

(५) औद्योगिक विकास

कुनै पनि उद्योग स्थापना गर्नका लागि आवश्यक पुर्वाधारहरु निर्माण गर्न आवश्यक छ । यस क्षेत्रमा विद्युत विस्तार भइसकेको र स्थानीय स्रोतमा आधारित उद्योगहरु स्थापना गर्नका लागि प्रसस्त मात्रामा सम्भावना रहेकोले पनि स्थानीय सरकारले यसलाई महत्वका साथ अगाडी वढाउनुपर्ने देखिन्छ । यसका लागि स्थानीय सरकारले योजना तर्जूमा, रणनीति तयार गरी कार्यन्वयन गर्न सक्नुपर्दछ ।

यस क्षेत्रमा स्थानीय स्रोतमा आधारित सिस्नो तथा अल्लो प्रशोधन, कागज उत्पादन, पानी प्रशोधन, काष्ट उद्योग, साबुन उत्पादन, धागो उत्पादन, अल्लो जस्ता साना तथा घरेलु उद्योगहरु स्थापना गर्न सकिने प्रसस्त आधारहरु रहेका छन् । यसलाई निजी, सामुदायिक र सरकारी साझेदारीमा अगाडी बढाउने योजना तयार गरिनु पर्दछ । खेर जाने काठको सहज प्रयोग नीति र व्यवसाय दर्ता स्थानीय सरकार कै तवरबाट अगाडी बढाउने र निःशुल्क व्यवसाय दर्ता गर्न सघाउँ पु¥याउनु पर्दछ । खानी तथा खनिज पदार्थको सम्भावयता अध्ययन गरी सम्बन्धित विभागसँग उत्खननको लागि पहल गर्न सक्नुपर्छ ।

समग्र बनगाड कुपिण्डे वनगाडका लागि स्थानीय सरकारका अलावा संघिय तथा प्रदेश सरकारको पनि भुमिका त्यतिकै महत्वपुर्ण छ । यस क्षेत्रमा भएको भौगोलिक विविधतालाई आत्मसाथ गरेको अवस्थामा यस क्षेत्रलाई समृद्ध वनाउका लागि त्यति समय कुर्नु नपर्ला ।

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार २०:५२