कपुरकोटमा शैक्षिक योजना र स्थानीय पाठयक्रम निर्माणका लागि समुदाय स्तरबाट सुझाव संकलन सुरु


सल्यान, ३० साउन ।

कपुरकोट गाउँपालिकाको आयोजनामा पञ्चवर्षिय शिक्षा योजना, शैक्षिक पाश्र्वचित्र र स्थानीय पाठ्यक्रम निर्माणको लागि सुझाव संकलनको काम सुरु भएको छ । जस अन्तर्गत सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ मा सुझाव संकलनको काम गरिएको छ । शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, अभिभावक लगायतका सरोकारवाला हरुको सहभागितामा सुझाव संकलनको काम गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सरस्वती भण्डारीले जानकारी दिइन् ।

आगामी पाँच वर्षमा कपुरकोट गाउँपालिकाको शिक्षा सुधारको लागि शैक्षिक योजना बनाएर व्यवस्थित ढंगले शिक्षाको विकास गर्न लागिएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताए । ‘आगामी पाँच वर्षमा हामी शिक्षाको व्यवस्थित विकास गर्न चाहन्छौं’ पुनले भने, ‘त्यसको लागि नागरिक, सरोकारवाला र विज्ञका सुझाव सहित शिक्षाका ५ वर्षका योजना बनाउँछौ ।’

योजना बनाउनु पूर्व पालिका को अहिलेको शैक्षिक अवस्था पत्ता लगाउन पलिकाको शैक्षिक पाश्र्वचित्र बनाइने छ । प्राप्त सुझावका आधारमा विज्ञ समूहले विषय क्षेत्र अनुसार खेस्रा लेखनको काम गर्ने बताइएको छ । योजनाको पहिलो मस्यौदा तयार भएपछि सरोकारवाला सँगको छलफल पछि अन्तिम रूप दिइने गाउँपालिकाले जनाएको छ ।

यस्तै कपुरकोट गाउँपालिकाले कपुरकोटका सबै विद्यालयमा लागू गर्ने गरी कक्षा १ देखि ८ सम्मको लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न पाठ्यक्रममा समावेश गरिने विषयवस्तु बारे पनि सुझाव संकलन सुरु गरेको छ । पाठ्यक्रमको नाम, समेटिने विषयक्षेत्र, विषयवस्तु आदि बारे सुझाव संकलन गरिएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक दामोदर शर्माले बताए । सुझाव संकलनको लागि गाउँपालिका अध्यक्ष दुर्गा पुन, शिक्षा अधिकृत सरस्वती भण्डारी, पञ्चवर्षिय शिक्षा योजना निर्माणको लागि शैक्षिक विज्ञ पुरुषोत्तम गिरी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदल संयोजक दामोदर शर्मा, सदस्य भूपाल शाहु, स्थानीय पाठ्यक्रम निर्माण विज्ञ रीम खड्का लगायत खटिएका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार १६:२१