मान्छे मार्ने पोथी बाघ सल्यानबाट नियन्त्रण

शंकर केसी,
सल्यान, १ भदौ ।

सल्यानबाट समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ७ स्थित स्वामीबासबाट बुधबार विहान मान्छे मार्ने पोथी बाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उक्त बाघले केही दिन अघि सुर्खेतमा आक्रमण गरी दुई व्यक्तिलाई मारेको थियो । यस्तै विभिन्न वस्तीमा गएर गोरु, खसी मार्ने र पशुचौपायलाई आक्रमण गरी घाइते समेत बनाएको थियो । निकुञ्जको कर्मचारी टोलि, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना देविदत्त गणको टोलि र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलिले बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर बाघलाई निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

गत साउन २९ गते सुर्खेत भेरिगंगा ५ का ४६ वर्षिय राम बहादुर चन्द र ६७ वर्षिय पवि वलीलाई जंगलमा घाँस काट्न गएको बेला आक्रमण गरेर मारेको उक्त बाघलाई निकुञ्जले विभिन्न स्थानमा क्यामेरा राखेर र स्थलगत रुपमा पनि निगरानीमा राखेको थियो । खोजिको क्रममा बुधबार विहान करिव १० बजेतीर सल्यानको कालिमाटी स्थित स्वामीबासमा खोल्सामा उक्त बाघ फोला परेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

अन्दाजी १२ वर्षको उक्त बाघ सामान्य घाइते अवस्थामा रहेको उनले जनाए । एउटा दाँत र नङ्ग्रा भाँचिएको अवस्थामा बाघ रहेको थियो । घाइते अवस्थाको बाघ आक्रामक हुने श्रेष्ठको भनाई छ । एक आपसमा जुधेर पनि बाघ घाइते भएको हुन सक्ने उनको अनुमान छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १२५ वटाको संखयामा बाघ रहेका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार १४:००