
सल्यान, २ भदौ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । जसका लागि कार्यदल गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउ शिक्षा समितिको गत साउन ४ गतेको निर्णय बमोजिम शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यदल गठन भएको शिक्षा अधिकृत केशर बहादुर वलीले जानकारी दिए । कार्यदलको संयोजकमा स्वयम उनी छन् भने सदस्यहरुमा टेक बहादुर बिष्ट, प्रेम बहादुर नेपाली, तुल्सा वि.क. र कुन्ती बस्नेत रहेका छन् ।
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनका साथै न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा समायोजन गरिने गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए । यसरी न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा समायोजन गर्दा प्रारम्भीक वाल विकास कक्षा भने नसारीने उनको भनाई छ ।
विद्यार्थी संख्या, भौगोलिक विकटता, विषयगत दोहोरोपन, शिक्षक विद्यार्थी, अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान गरिने पनि गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका ४० वटै विद्यालयको अनुगमन तथा सुपरिवेक्षण गरेर तथ्याङ्क संकलन गरिएको शिक्षा अधिकृत वलीले बताए ।
छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको विकासको लागि दुई करोड बढी बजेट विनियोजन गरेको जनाएको छ । विद्यालयमा जनशक्ति व्यवस्थापन, शैक्षिक सुधार तथा प्राविधिक जनशक्ति उत्पादन लगाएतका कार्यमा लगानी गरिने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । हरेक वडाबाट दुई दुई जना विद्यार्थीलाई निःशुल्क रुपमा प्राविधिक शिक्षा दिइने उनको भनाई छ । छत्रेश्वरीको वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालयमा सञ्चालन भएको वाली विज्ञान र पशु विज्ञान विषयमा प्रत्येक वडाबाट दुई दुई जना विद्यार्थीलाई प्राविधिक शिक्षा दिइने उनले बताए ।
छत्रेश्वरी गाउँपालिकामा ३९ वटा सामुदायिक, १ मदरसा गरी ४० वटा सामुदायिक विद्यालय रहेका छन् । कक्षा १ देखी १२ सञ्चालित २ वटा, १ देखी १० सञ्चालित ७ वटा, १ देखी ८ सम्म सञ्चालित ५ वटा, १ देखि ५ सञ्चालित १६ वटा र १ देखी ३ सम्म सञ्चालित १० विद्यालयहरु रहेको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।
प्रकाशित मिति: २ भाद्र २०७९, बिहीबार ११:५६