गाउँपालिकालाई उत्तरदायी बनाउन सामुदायीक समूहको भुमिका महत्वपूर्ण

सल्यान, २२ भदौ ।

सल्यानको कपुरकोटमा सामुदायीक संस्था तथा समूहका सदस्यहरुका लागि वकालतीय रणनीति योजना कार्यशाला सुरु भएको छ । कार्यशालाका कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बुधबार उद्घाटन गरे । स्थानीय समुदायमा भएका समस्याहरुको पहिचान गरी समस्या समाधानको लागि वकालतिय रणनीति योजना तयार गर्नका लागि आयोजना गरिएको कार्यशाला तीन दिन सम्म चल्ने छ । सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत कार्यशालाको आयोजना गरिएको सामुुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रम उद्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष पुनले आफुहरु सुशासन वृद्धिका लागि जिम्मेवार बनेर काम गरिरहेको बताए । गाउँपालिकालाइ नागरिकप्रति जवाफदेही, पारदर्शि र उत्तरदायी बनाउन तथा सुशासन कायम गर्न रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्न सहभागीहरुलाई आग्रह गरे ।

कार्यशालामा विशेष गरी गाउँपालिकाभित्र रहेका वाल विवाह, खानेपानी तथा शिक्षा संग सम्बन्धीत समस्याहरुको पहिचान गरी समाधानको लागि योजना निर्माण गरिने बताइएको छ । अरुलाई दोष दिनुअघि नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताउदै सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सल्यान जिल्ला संयोजक गुमानसिंह नेपालीले नागरिकलाई स्थानीय सरकारलाई सहयोग र खबरदारी गर्न सक्ने बनाउनका लागि कार्यक्रमले काम गरिरहेको बताए ।

समाज जागरण केन्द्रका अध्यक्ष चन्द्रमणी खड्काको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रमको संचालन सचिव अमर बहादुर महताराले गरेका थिए । यूरोपियन न्यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र ते दे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त सहकार्यमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम संचालनमा रहेको छ । सल्यानको त्रिवेणी, कपुरकोट, कालिमाटी, सिद्धकुमाख र दर्मा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको दलित विकास समाज सल्यानले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार १५:०१