
त्रिवेणि तिर्थशाला धामको विकासमा गाउँपालिकाको पहल
सल्यान, ११ मंशिर ।
कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा प्रसस्त पर्यटकीय तथा धार्मिक स्थलहरु रहेका छन् । यद्यपि पर्यटकीय दृष्टीकोणले कम ध्यान जाँदा यो क्षेत्रको पर्याप्त विकास र प्रवद्र्धन हुन सकिरहेको छैन । आर्थिक समृद्धिका लागि समेत धार्मिक तथा पर्यटन क्षेत्रको तिब्र विकास हुन आवश्यक रहेको सरोकारवाला बताउँछन् । यहि क्रममा सल्यानको त्रिवेणी गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका विभिन्न धार्मिक स्थल र पर्यटकीय क्षेत्रको एकिकृत विकासका लागि अवश्यक योजना निर्माण गरेर अगाडी बढ्ने भएको छ ।
स्थानीयहरुको लगानी सहित गाउँपालिकाको केन्द्र वडा नं ६ स्थित त्रिवेणी तिर्थशाला धाममा विभिन्न संरचना बनाइएकोमा धामको विकास र प्रवद्र्धनमा त्रिवेणी गाउँपालिकाले आवश्यक काम गर्ने भएको छ । धाममा रहेका मुर्तिहरुको संरक्षणका लागि हाललाई ५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जानकारि दिए । उनले भने, ‘हाम्रो गाउँपालिकाभित्र रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको एकिकृत विकासका लागि योजना बनाएरै अघि बढ्छौँ । हाम्रो प्रमुख स्थल त्रिवेणी तिर्थशाला धामको विकासका लागि हाललाई ५ लाख रुपैयाँ विनियोजन गरेका छौँ । आगामी हिउँदे गाउँसभाबाट थप बजेटको व्यवस्था गर्ने भनेका छौँ’ ।
यस धाममा पञ्चेश्वर मन्दिर र राधाकृष्ण मन्दिर संगै यज्ञशाला तथा आश्रम पनि निर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समिति मार्फत तिर्थशाला धामको विकासका लागि आवश्यक काम भइरहेको छ भने नियमित रुपमा पुजारीबाट पुजाअर्चना कार्य भइरहेको व्यवस्थापन समितिका अध्यक्ष सुरेश बुढाथोकीले बताए । तिर्थशाला धाममा विशेष गरी श्रीकृष्ण जन्माष्ठमी, तीज,महाशिवरात्री जस्ता चाड पर्वको बेला ठूलो मेला लाग्ने गरेको उनको भनाई छ । धामको उचित विकास, संरक्षण, प्रवद्र्धन गरी आन्तरिक तथा वाह्य पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्नेगरी काम गर्नेगाउँपालिकाका अध्यक्ष रावतको भनाई छ ।

शारदा नदी, लुहाम खोला र अरने खोलाको संगमस्थलसंगै जोडिएको तिर्थशाला धामको धार्मिक महत्व निकै धेरै रहेको स्थानीयहरु बताउँछन् । श्री स्वस्थानी ब्रत कथामा उल्लेख भए अनुसार महादेवले सतिदेवीको मृत शरिर बोकेर भ्रमण गर्ने क्रममा सल्यानको छायाँक्षेत्रमा सतिदेवीको अन्तीम शेष पतन भएपछि उनी त्रिवेणीमा स्नान गरेर उत्तरापन्थथिर लागेको भन्ने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् । यसका कारण पनि त्रिवेणीमा दैविय शक्ति रहेको यहाँका नागरिकहरुको विश्वास छ । मानिसको मृत्यु भइसकेपछि अन्त्यष्टी गर्दा ‘फुला’ सेलाउनका लागि समेत दांग, रोल्पा, रुकुम लगाएतका छिमेकी जिल्लाहरुबाट मानिसहरु त्रिवेणीमा आउने गर्दछन् ।
त्रिवेणी तिर्थशाला धामको थप विकासका लागि पर्यटन बोर्डसंगको सहकार्यमा काम गर्नेगरी पहल थालिएको गाउँपालिकाले जनाएको छ । धाममा विभिन्न संरचना निर्माण गर्न, घेरबार, स्तरोन्नती गर्न, धार्मिक बोटविरुवा रोप्न तथा वाल उद्यान समेत सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय गरी पर्यटन बोर्डमा प्रस्ताव पठाइने गाउँपालिका अध्यक्ष रावतले जनाए ।

त्रिवेणी गाउँपालिकामा ऐतीहाँसिक फालावाङ दरबार लगाएत दर्जन बढी पर्यटकीय तथा धार्मिक स्थलहरु रहेका छन् । ती स्थलको विकास र प्रचारप्रसारका लागि प्रदेश तथा संघीय सरकारको लगानी एवम् सहयोगको गाउँपालिकाले अपेक्षा गरेको छ । गाउँपालिकाको वडा नं १ को रमणीय स्थल करेलेचौरमा पर्यटकीय पार्क निर्माणका लागि गाउँपालिकाले डिपिआर समेत तयार गरिसकेको जनाएको छ । त्रिवेणीको वडा नं ५ मा शिव मन्दिर, शिद्धबाबा थान, ४ मा रतननाथ मन्दिर, १ मा बराह थान मन्दिर, सिद्ध गुफा वडा नं ३ र ४ मा थरकोट लेख रहेका छन् । यस्तै वडा नं ३ र ६ मा छहरा, २ मा शिद्धगुफा मन्दिर लगाएतका धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । गाउँपालिकाभित्रका यी क्षेत्रहरुको पर्यटकीय स्थलको रुपमा विकास गर्न सकेमा पर्यटकहरु आकर्षित गर्न सकिने र जसबाट नागरिकहरुको जीवनस्तरमा उल्लेखनीय सुधार हुन सक्ने गाउँपालिकाको अपेक्षा छ ।
प्रकाशित मिति: ११ मंसिर २०७९, आईतवार ०८:३८