
सल्यान, २२ मंशिर ।
धेरैले स्वीकारेको विषय हो- “शिक्षण पेशालाई हेर्ने र बुझ्ने दृष्टीकोण अझै पनि फरक छ ।” अथवा शिक्षण पेशालाई कम महत्वका साथ हेरिन्छ । अहिले पनि शिक्षकहरुले ‘राम्रो देशतीर किन नगएको ?’, ‘लोकसेवा तिर नाम निकालेर निजामति सेवामा लाग्न छाडेर किन यतातिर ?’ जस्ता प्रश्नहरु सामना गर्नुपरिरहेको छ । शिक्षण पेशालाई अपहेलित रुपमा समाजले हेरेको महसुस गर्दै कतिपय शिक्षकहरु लोकसेवा तर्फ प्रवेश गरेको प्रसस्त उदाहरणहरु देख्न, सुन्न सकिन्छ ।
तर सल्यानका एक जना शिक्षकले निजामति सेवालाई अस्वीकार गर्दै शिक्षण पेशालाई नै रोजेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ गाडाँपानि निवासी नरबहादुर बाँठाले लोक सेवा आयोग पोखरा कार्यालयबाट खरिदार पदमा नाम निक्लिएपनि शिक्षक सेवा नै रोजेका हुन् । उनी खरिदार पदमा नाम निकाल्दै जिल्ला हुलाक कार्यालय गोरखाका लागि सिफारिसमा परेका थिए ।
नर बहादुरले भने, ‘संयोग नै भयो, २०७९ को असोज ६ गतेका दिन शिक्षक सेवा आयोगबाट मावि तृतीय श्रेणिमा नाम निकलियो, त्यसै दिन लोकसेवाबाट पनि खरिदार पदमा नाम निक्लियो । तर मैले शिक्षक सेवा नै रोजेँ । खरिदार पदमा नियुक्ति लिदैन भनेर सनाखत समेत गरिसकेको छु ।’ उनी लामो समय सम्म शिक्षण पेशामा नै रहेका थिए । २०६७ देखि ७ वर्ष आफ्नै गाउँपालिकामा रहेको नेपाल राष्टिय माविमा निजी श्रोतमा शिक्षण गरे । २०७३ देखी ७४ मा सोही विद्यालयमा निमावि करारमा कार्यरत थिए भने त्यसपछि २०७६ सम्म मावि राहत शिक्षकको रुपमा काम गरेका थिए ।
नरबहादुर लोकसेवा आयोगबाट लिएको परीक्षामा प्रावि तहमा नाम निकालेर २०७६ मंशिरदेखि स्थायी शिक्षक सेवामा प्रवेश गरेका थिए । मं २०७६ मा कास्की जिल्लामा स्थायी शिक्षक सेवामा पदस्थापन भएँ । ‘शिक्षकलाई हेर्ने दृष्टीकोण फरक देखिएकाले र शिक्षकले लोकसेवामा नाम निकाल्न सक्दैनन् भन्ने कुरा सुन्दा त्यतातिर पनि प्रयास गरेको हुँ । पहिलो प्रयासमै सफल पनि भएँ,’ उनले भने । २०७६ फगुनमा खरिदार पदका लागि लोकसेवाबाट विज्ञापन भएपछि त्यसमा फाराम भरेर नर बहादुरले २०७७ मा परीक्षा दिएका थिए भने २०७९ भदौमा नाम निकाल्न सफल भएका थिए । यस्तै २०७८ मंशिरमा मावि शिक्षकका लागि शिक्षक सेवाबाट विज्ञापन भएपछि २०७८ चैत्रमा पहिलो पत्र र २०७९ को असारमा दोश्रो पत्रको परीक्षा दिएका थिए । यसको रिजल्ट पनि २०७९ असोज ६ गते नै आएको थियो । ‘मं त विरामी भएर अस्पतालमा भर्ना भएको थिएँ । पहिले मावि शिक्षकमा नाम निक्लीएको साथीहरुले फोन मार्फत जानकारी गराए । त्यसको आधि घण्टा पछि फेरी साथीहरुले फोन गरेर लोकसेवामा पनि नाम निक्लीएको छ भने । मं निकै खुसी भएको थिएँ’, उनले भने ।
आफु लामो समयसम्म शिक्षण पेशामै संलग्न भएर शिक्षा क्षेत्रमा योगदान गरेकाले शिक्षक सेवा नै रोजको नर बहादुरले बताए । यसका साथै हरेक क्षेत्रको जनशक्ति पनि शिक्षालयले नै उत्पादन गर्ने भएकाले निजामति सेवाको खरिदार पद छाडेर शिक्षक नै बन्ने निर्णय गरेको उनले जनाए । शिक्षण पेशालाइ रोजेर नरबहादुरले खरिदार पदमा नियुक्ति नलिएपछि लोकसेवा आयोग पोखरा कार्यालयले उक्त पदमा बैकल्पीकलाई सिफारिस गरेको छ । शिक्षण पेशालाई सम्मानित बनाउन नरबहादुरले उदाहरण प्रस्तुत गरेको भन्दै शिक्षा क्षेत्रका व्यक्तिहरुले उनलाई सम्मान प्रकट गरिरहेका छन् । मावि तृतीय श्रेणिमा सिफारिस भएका उनी बाँके जिल्लामा पदस्थापन भएका छन् । अव चार पाँच दिनमै विद्यालय पदस्थापन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार ०९:३४