नयाँ भवनमा कार्यालय सर्ने भएकाले बागचौर नगरपालिकाको सेवा तीन दिन बन्द

सल्यान, १० माघ ।

सल्यानको बागचौर नगरपालिकाको सेवा तीन दिन बन्द हुने भएको छ । नवनिर्मित प्रशासनीक भवनमा नगर कार्यपालिकाको कार्यालय सार्न लागिएकाले सेवा बन्द हुने भएको प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले जानकारी दिएका छन् ।

यहि माघ ११, १२ र १३ गते अत्यावश्यक वाहेकका सेवा बन्द हुने नगरपालिकाले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । नयाँ भवनमा कार्यालय सार्दा कार्यालय व्यवस्थापन तथा सामग्री स्थानान्तरणमा कर्मचारी खट्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जनाएका छन् । माघ १४ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७९, मंगलवार १७:४४