विपद् प्रतिकार्य तालिम संगै सल्यानका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्दै सेना

सल्यान- नेपाली सेनाले सल्यानको हरेक स्थानिय तहमा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको छ । साथै एक स्थानीय तह एक हेलिप्याड निर्माण कार्यलाई पनि अगाडि बढाएको छ । नेपाली सेना सबुज गणले १० वटै स्थानिय तहमा स्थानिय युवा, जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायतका सरोकारवालाहरुलाई सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको हो । मंगलबार कपुरकोट गाउँपालिकामा चार दिने सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम सुरु भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, स्थानिय युवा क्लवका पदाधिकारी, राजनीतिककर्मी लगायतको सहभागीता रहेको तालिममा जिल्लामा हुने सम्भावित विपद् र त्यसको रोकथामको बिषयमा छलफल गरिएको छ ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, नीजी तथा व्यक्तिगत, प्राकृतिक एवम् सांस्कृतीक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन ऐन, २०७६ बनाएको जानकारि गराए । गाउँपालिका स्तरिय विपद् ब्यवस्थापन समितीका संयोजक समेत रहेका अध्यक्ष सेनले सबै वडामा समिती गठन गरिने र विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

श्रोत साधनको अभावका विच हाल नेपाली सेना तथा सुरक्षा फौजले आगलागी, दुर्घटना जस्ता विपद्को बेला कार्य गरिरहेको जनाउदै सबुज गण, सिमखर्क ब्यारेकका निमित्त गणपति दिपेन्द्र राउतले अव विपद् प्रतिकार्य तालिम समुदायस्तरमा लैजान आवश्यक ठानेर जिल्लाभर सुरु गरिएको बताए ।


उनका अनुसार वनगाड कुपिण्डे र शारदा नगरपालिका तथा कालिमाटी र सिद्धकुमाख गाउँपालिकामा तालिम सम्पन्न भइसकेको छ । साथै एक स्थानीय तहमा एउटा हेलि प्याड निर्माण गर्ने कार्यक्रम अनुसार कपुरकोट गाउँपालिकाको २ नम्बर वडामा पनि मंगलबार देखी निर्माण कार्य शुरु भएको जनाए । गाउँपालिकाले हेलिप्याड निर्माणका लागी निर्माण सामग्री तथा ढुवानीको ब्यवस्था गरिदिएको र सेनाले निर्माण कार्य गरिरहेको राउतले जनाए । नेपाली सेनाले शारदा नगरपालिकाको खैरावाङ, कुपिण्डे नगरपालिकाको सल्ली र सिद्ध कुमाखमा हेलिप्याड निर्माण गरिसकेको छ ।

प्रकाशित मिति: २१ माघ २०७६, मंगलवार १९:००