घाँटी रेटिएको र उत्तानो परेको अवस्थामा घरनजिकै भेटियो किशोरीको शव

सल्यान – हत्या गरिएको अवस्थामा सल्यान काभ्रामा एक किशोरीको शव फेला परेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर १ तल्लो काभ्रा निवासि कविता वोहोराको शव हत्या गरिएको अवस्थामा शनिबार फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो छ, जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कभरखबरसंग भने, शनिबार विहान ३ बजेतीर प्रहरीलाई घटनाको बारेमा थाहा भयो आफ्नै घर अगाडीको गाईवस्तु बाँध्ने भकारोमा उनको शव फेला परेको थियो ।

खतिवडाले भने, घरदेखी करिव १५–२० मिटर पर भकारोमा उत्तानो परेको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । प्रहरीलाई कविताको घरपरिवारले दिएको जानकारि अनुसार राती ९ बजेसम्म उनले कोठमा पढेर बसेकी थिईन् । तर घरपरिवारले राती १ बजेतीर कवितालाई कोठामा भेटेका थिएनन् । घरमा रहेको सानो वालक विरामी भएपछि कवितालाई पनि उठाउन कोठामा जाँदा फेला नपारेपछी घटनाबारे थाहा भएको घरपरिवारले जानकारि दिएका छन्, डिएसपी खतिवडाले भने, त्यहि रातीको १२ देखी १ बजेको विचमा घटना भएको हुन सक्छ ।

यसैविच घटनाबारे अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्ने भएको छ । डिएसपी खतिवडाले बाँकेबाट तालिमप्राप्त कुकुर सहितको प्रहरी टोलि आउँदैगरेको बताउँदै प्रविधिको प्रयोगबाट घटनाबारे अनुसन्धान गर्न थालिएको जानकारि दिए । घटनास्थलमा विहान ३ बजे नै प्रहरी पुगेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोलि खटिएको उनले जानकारि दिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार ०९:३७