ट्रिपरले पोल ढाल्यो, प्राधिकरणको ध्यान क्षतीको रकम तिराउनतर्फ केन्द्रीत, किमुचौरमा तीनदिन देखी विद्युत अवरुद्ध

सल्यान – पोल ढलेको तीन दिन वितिसकदा पनि मर्मत हुन नसक्दा सल्यान किमुचौरवासि अन्धकारमा बस्न बाध्य भएका छन् । कपुरकोट देखी किमुचौर विद्युत प्रशारण लाईन अन्तर्गत पातिहाल्ना भन्ने स्थानमा ट्रिपरले पोल ढालेपछी विहिबारदेखी विद्युत सेवा अवरुद्ध बन्न पुगेको हो । तर मर्मत सम्भारका लागी नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले तदारुकता नदेखाउदा सयौँ घरधुरिमा अन्धकार छाएको प्रावि क्युरेनी कपुरकोट ४ का प्रधानाध्यापक डिल बहादुर थापाले जानकारि दिए । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय एफएम रेडियोको प्रशारण सेवा समेत अवरुद्ध भएको छ भने नेपाल टेलीकमको मोवायल फोन सेवा पनि बन्द छ । २५० बढी घरपरिवार विजुली बत्ती बाल्नबाट वञ्चीत भएका छन् ।

विद्यालय भवन निर्माण सामग्री लिएर आएको ट्रिपरले विद्युतको दुई वटा काठे पोल ढालेर भाँचेकाले विदुत सेवा अवरुद्ध बन्न पुगेको हो । विद्युत तार पनि भुँइमै लत्रीएको छ । विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले विद्युत लाईनमा क्षती पुर्याउने गाडी धनीलाई क्षतीपुर्ति तीराउन तर्फ बढि ध्यान केन्द्रीत गर्दा विद्युत मर्मत हुन नसकेको हो । सल्यान वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले विदुत मर्मत गर्नका लागी ५९ हजार रुपैयाँ आवश्यक पर्ने र यसको स्टमेट तयार भइसकेको जनाउँदै क्षती पुर्याउने गाडी धनी कार्यालयको सम्पर्कमा नआएको बताए । उनका अनुसार श्रीनगरबाट पोल लगाएतका सामग्री ढुवानी आइतबार हुन सकेमा सोमबार सम्म विद्युत सेवा सुचारु हुन सक्ने बताए । तर प्राधिकरणले तुरुन्तै गर्न सक्ने मर्मत सम्भारको काममा वेवास्ता गरी सेवाग्राहिहरुको मर्कालाई वेवास्ता गरेको भन्दै विद्युत प्रयागकर्ताहरुले गुनासो गरेका छन् ।

यता गाडीधनीको तर्फबाट निर्माण व्यवशायी गोरख ओलीले १५÷२० हजारमा सम्पन्न हुने काममा पनि प्राधिकरणले ५९ हजारको स्टमेट तयार गरेको बताएका छन् । विद्यालयमा निर्माण सामग्री पुर्याएर फर्कदै गरेको ट्रिपर पोल अड्याउन प्रयोग भएका तारमा अल्झीएर जीर्ण अवस्थाका पोल ढलेको जनाउदै उनले भने, ‘१५÷२० हजारमा सम्पन्न हुने मर्मतको काममा विद्युत कार्यालयले हामीलाई ५९ हजार तिराउने भनेको छ, तै पनि हामी तयार छौँ । शनिबार बैंक बन्द हुने भएकाले आइतबार रकम जम्मा गरिदिन्छौँ ।’

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार १७:१३