
सल्यान । उपभोक्ताहरु आफै सजग नहुँदा सम्म विभिन्न बहानामा ठगिने क्रम जारी रहने सल्यानका प्रमुख जिल्ला अधिकरी शिवराम पोख्रेलले बताउनु भएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारी सल्यानको खलंगामा आयोजित कार्यक्रममा बोल्दै उहाँले उपभोक्ता ठगिंए भनेर जब सम्म आफै आवाज उठाउँदैनन तबसम्म विभिन्न बहाना भइ रहेको ठगी नरोकिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले नियमित बजार अनुगमन नहुँदा समेत उपभोक्ताहरु ठगिनेक्रम जारी रहेको बताउनुभयो ।संघियता आई सके पछि कानुन निर्माणमा ढिलाई हुँदा पनि अनुगमन गर्नमा अन्यौल देखिएको उहाँको भनाई छ । उपभोक्ता अधिकारको बिषयमा सचेतना फैलाउन मिडियाले पनि यस्ता बिषयमा कुरा उठाउनु पर्ने बताउनुभयो ।
सचेतनाको कमिले पनि उपभोक्ताहरु ठगिने गरेकाले जनमानसमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने शारदा नगरपालिका २ का वडा अध्यक्ष केशब सिङ श्रेष्ठले बताउनुभयो । उपभोग गर्न पाउनु नागरिकको अधिकार भएकाले गुणस्तरिय सामान प्राप्त गर्नको लागि उपभोक्ताहरु पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
हामीहरु सबै कुनै न कुनै किसिमले उपभोक्ता भएकाले विभिन्न बहानामा आफुहरु ठगिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलय सल्यानका प्रमुख नृपजंग शाहीले बताउनुभयो । अहिले सबै अधिकार स्थानीय तहमा गएकाले स्थानीय तहहरु पनि यस बिषयमा जिम्मेवार बन्नु पर्नेमा उहाँको जोड थियो ।
उपभोक्ताहरु आफै सचेत नहुनु र कारवार्हीको दायरामा नल्याउदा पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताउनुभयो । उहाँले सम्बन्धित निकायले बजार अनुगमनलाई कडाई नगर्दा उपभोक्ताहरु ठगिरहेको बताउनुभयो।
कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरु बिभिन्न बहानामा ठगिँदै गएको बताए ।चाड पर्वको समयमा मात्र बजार अनुगमन हुने र अन्य समयमा अनुगमन नगर्दा उपभोक्ताहरु ठगिएको गुनासो सहभागीले गरेका छन्।
प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार १९:५१