अत्यावश्यक वाहेकका सेवा बन्द गर्दै गाउँपालिकाले गर्यो यस्तो अपिल

सल्यान– कोरोना भाइरसको सम्भावीत संक्रमणबाट बच्न भन्दै सल्यानको कपुरकोट गाउँपालिकाले पनि आगामी चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ती निकालेर संघीय सरकारको निर्णय बमोजिम ९ गते (आज ) देखि चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवा हरु बन्द गरिएको जनाएको हो । गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले विज्ञप्ती जारि गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय, शाखा, फाँट, ईकाईबाट अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाएका छन् । यस सम्बन्धी जानकारि सम्बन्धीत वडा कार्यालयहरुमा पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाहीले जनाए ।

गाउँपालिकाले विज्ञप्ती मार्फत कोरोना संक्रमणबाट बच्न सतर्कताको विभिन्न प्रयासहरु समेत गरेको पनि जानकारि गराएको छ । कर्णाली प्रदेश सरकारसंगको समन्वयमा कपुरकोटमा हेल्थ डेस्क स्थापना गरी चौबिसै घण्टा चेकजाँच भइरहेको छ भने पालिकाभित्रका ६ वटै वडाहरुमा आवश्यक स्वास्थ्यकर्मी सहित सतर्कता समिति गठन गरी कोरोनाबाट जोगिनका लागि आवश्यक कदमहरु चालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नोभल कोरोनाबाट बच्ने उपायहरु अवलम्बन गर्न पनि विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आईतवार १४:०१