एक गाग्री पानीका लागि दिनभर समय विताउनुपर्ने ६५ घरधुरीको समस्या

ईन्द्र बुढाथोकी
सल्यान- कोरोना भाईरसको संक्रमणको त्रास भन्दा बढी सल्यानका वासीन्दालाई खानेपानीको समस्याले सताउन थालेको छ । पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा ४ डोप्केमा खानेपानीको समस्याले स्थानीयहरुलाई हिजोआज पिरोलिरहेको छ ।

देशमा लकडाउन भएको र कोरोनाका कारण कसैको घरमा नजाने भिडभाड नगर्न सरकारले भने पनि खानेपानी समस्याको कारणले भिडभाडमा जानू पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । ‘दैनिक ५० लिटर खानेपानी पालो लगाएर ल्याउने गर्दछौ तर पनि घरमा रहेका गाई भैंसी लगाएतका बस्तु भाउलाई खुवाउने कि आफुहरुले खाने समस्या भएको छ,’ स्थानीयहरु भन्छन् ।

मानिसलाई नै पिउन, खाना पकाउन, नुहाउन, कपडा धुनका लागि पानी नपुगेको बताउदै डोप्के निवासी रुमा बुढाले भनिन्, ‘कसरि सौचालयमा पानी पुर्याउने, कसरि पटक पटक साबुन पानीले हात धुने ?’ कोरोना भाइरसको भन्दा आफुहरुलाइ कति बेला पानी भर्ने र घरको काम गर्ने भन्ने चिन्ता लागेको उनले बताएकी छन ।

बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका अधिकांस डाडाकाडाका बस्तिहरुमा खानेपानी समस्या हुने गरेको छ । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि गाउमा खानेपानी हाहाकार भएको हो । बनगाड कुपिण्डे नगरपालिका वडा न ४ डोप्केका दुर्गा बस्नेतले भने, ‘गाउंका ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता छ ।’

यहाँका वासिन्दाले यस्तो समस्या हरेक वर्ष ब्यहोर्दै आइरहेका छन् । गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको डाबखोला मुहान बाट पाइपमा पानी ल्याएकोमा हाल सानो पानीको मुहानका कारण गाउमा पानी नपुग्ने भएकोले र अन्यत्र बाट पानी ल्याउने कुनै ठाउ नहुदा समस्या भएको बस्नेतले बताएका छन् ।

देशमा तीन तहको सरकार हुदा पनि आफुहरुलाइ कहिले पनि खानेपानीको लागि बजेट नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि सम्बिन्धि निकायले कुनै वास्ता नगरेको झलक बुढाले बताए । ‘खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि हाम्रो समस्या समाधान हुन सकेन, उनले भने । खानेपानीको समाधानको उपाय भनेको लिफ्ट मात्र भएको र धेरै बजेट लाग्ने भएकोले कुनै निकाय बाट पहल नभएको उनले बताए ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १६:३६