रुकुम पश्चिमको घटना प्रति सल्यानमा अधिकारकर्मीहरुको ध्यानाकर्षण

सल्यान । रुकुम पश्चिममा भएको घटना प्रति सल्यानका अधिकारकर्मीहरुले भ्रत्सना गरेका छन् । जातिय विभेदको आधारमा भएको घटना निन्दनीय भएको भन्दै अधिकार कर्मिहरुले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कडा कारवाहीको माग गरेका छन् । एक विज्ञप्ती मार्फत अधिकारकर्मीहरुले घटनाको भ्रत्सना गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित एक युवतीबीच विगत तीन वर्ष लामो प्रेम सम्बन्ध रहेको र विवाहका लागि प्रेमीकालाई लिन रुकुम पुगेका नवराज सहित १९ जनामाथि गाउँलेले आक्रमण गरेको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको गैसस महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले बताउनुभयो ।

मानवअधिकारका क्षेत्रमा विगत लामो समयदेखी जिल्लामा कृयाशील संघसंस्था, नागरिक समाज र विभिन्न संजालहरुले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा यस्ता अमानवीय घटनाका दोषिलाई कुनै पनि वहानामा उम्कन नदिएर हदैसम्मको कारवाहिको माग गरिएको छ ।

गैसस महासंघ सल्यान, इन्सेक नेपाल सल्यान, दलित सेवा संघ सल्यान, दलित विकास समाज सल्यान, महिला मानवअधिकार रक्षक संजाल सल्यान, रेस नेपाल, पार्ड नेपाल सल्यान, डेभलपमेन्ट सोसाइटी, मध्यपश्चिम युवा मिलन केन्द्र सल्यान लगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर घटनाको निन्दा गरेका हुन ।

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलवार २०:०६