चौरजहारीले लिन नमानेपछि सल्यानका १३ जना कोरोना संक्रमित विद्यालय भवनमा

सल्यान ।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा देखिएका २५ जना कोरोना संक्रमित मध्ये १३ जना कोरोना संक्रमितलाइ विद्यालय भवनमा राखिएको छ ।

जिल्लामा जेठ १७ गते भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि अहिले नगरपालिकाकै एक विद्यालय भवनमा राखिएको  हाे ।

चौरजहारी अस्पतालले लिन नमानेपछि सुर्खेत पठाउने तयारी गरिएका बनगाडका १३ जनालाई अहिले ६ नम्बर वडाको सुनौली माविमा छुट्टै राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताउनुभयाे।

जिल्लामा आवश्यक आइसुलेशनको अभावमा बाँकी संक्रमित १३ जनलाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाउने तयारी भइ रहेको नगरपालिकाले जनाएको छ । संक्रमितलाइ भोलि बिहान मात्रै सुर्खेत पठाइने खड्काको भनाइ छ ।

बनगाड कुपिण्डे नगरपालिकाका २५ जना कोरोना संक्रमित मध्ये १२ जनालाई भने सल्यान अस्पतालमा राखिएको अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिनुभयाे ।

कर्णाली प्रदेश सरकारले सुरुमै ५० लाख बजेट दिएर सल्यान, जाजरकोट र रुकुम पश्चिमका कोरोना संक्रमित राख्नको लागि चौरजहारी कोरोना विषेश अस्पताल बनाएको थियो ।

तर अहिले आएर चौरजहारी कोरोना अस्पतालले सल्यानका कोरोना संक्रमितलाई राख्न नमानेपछि समस्या सृजना भएको छ । रुकुममै नयाँ कोरोना संक्रमित भेटिन सक्ने संभावना भएकोले अहिले अस्पतालले आइसोलेसन रिजर्भ गरेर राखिएको बताइएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आईतवार २१:०४