चौरजहारी अस्पतालबाट सल्यानका ९ जना कोरोना जितेर फर्किए

सल्यान ।
रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालबाट सल्यानका नौ जना डिस्चार्ज भएका छन् । चौरजहारी मिसन अस्पतालको आइशोलेशनमा रहेका बनगाड कुपिण्डे नगरपालिकाका नौ जना कोरोना संक्रमण निको भएपछि डिस्चार्ज भएपछि घर फर्किएका हुन् ।

मिसन अस्पताल चौरजहारीमा उपचारत ११ जनामध्ये नौ जना सोमबार डिस्चार्ज भएको मिसन अस्पताल चौरजहारीले जनाएको छ । उपचार पछि फर्किने सबै पुरुष रहेका छन् । झन्डै २० दिन अघि कोरोना पुष्टि भएपछि अस्पताल ल्याइएका उनीहरुको पहिलो र दोस्रो चरणको परीक्षणमा नेगेटिभ आएपछि घर फर्काएको अस्पतालका मेडिकल डाइरेक्टर कालेव बुढाले बताउनुभयाे ।

यससंगै सल्यानमा हालसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या ६६ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना र आइसोलेसन कक्ष लुहापिङबाट ३९ जना डिस्चार्ज भइ सकेका छन् ।सल्यानमा १ सय ६८ जना कोरोना संक्रमित रहेका छन् ।
आत्मबल बलियो भएको खण्डमा कोरोनालाई जित्न सकिन्छ
कोरोना भाइरस लाग्दैमा आत्तिनु पर्ने अवस्था नरहेको र आत्मबल बलियो भएको खण्डमा कोरोनालाई जित्न सकिने वडा न ३ का २६ वर्षीय भोला पुनले बताउनुभयो ।
आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको उहाँको भनाई छ । आफुलाई कोरोनाको कुनै पनि लक्षिण नदेखिएको र भाइरस लागेको अनुभव पनि नभएको उहाँले बताउनुभयो । गत जेठ १० गते भारतको गुजरातबाट आएका उनीहरुमा जेठ २८ गते गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिर्पोट आएको थियो ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार १७:२०