सल्यानमा पहिलोपटक ब्लड वैङ्क स्थापना हुने

रमेशकुमार वली
सल्यान । सल्यानमा पहिलोपटक ब्लड वैङ्क स्थापना हुने भएको छ । जिल्लामै ब्लड बैंङ्क स्थापना भएपछि जिल्ला अस्पताल लगायत निजी अस्पतालहरुमा रगत आवश्यक पर्ने विरामीहरुले समस्या भोग्नु नपर्ने भएको छ ।
सल्यानमा सरकारी सहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए । जटिल प्रकारका बिरामीको उपचार तथा शल्यक्रिया गर्दा तत्काल रगत चाहिने भएपनि ब्लड वैङ्क नहुदा निकै समस्या हुने गरेको थियो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पूर्वाधार बिशेष कार्यक्रम मार्फत ब्लड बैँक स्थापनाको लागी भवन निर्माणको काम थालिएको हो । अहिले जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा मात्रै सञ्चालनमा छ ।
जिल्ला अस्पताल सल्यानको परिसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान मार्फत रु. २० लाख रुपैयाको लागतमा ब्लड बैङ्क भवन निर्माण शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो
“जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ, बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ ।” सभापति श्रेष्ठले भन्नुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले अहिले जिल्लामा मोबाइल ब्लड बैँक सञ्चालन भैरहेको बताउनुभएको छ । तर ब्लड बैँक स्थापना नहुदाँ समस्या भएको छ । “आकस्मिक रुपमा रगत चाहिएको अबस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ, तत्काल विरामीले रगत नपाउने तथा रक्त समुह नमिल्ने भएकोले पनि समस्या हुदै आएको छ।” डा. बुढाले भन्नुभयो ।
गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उहाँको भनाई छ । अहिले रगत आबश्यक पर्ने खालका मासिक रुपमा ४÷५ वटा विरामी आउने गरेको डा. बुढाले जानकारी दिनुभयो । गर्भवती, सुत्केरी र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलवार १३:५२