सल्यानमा हालसम्म ५०प्रतिशत धान रोपाई सम्पन्न, उत्पादनमा वृद्दिहुने कृषि कार्यालयको भनाइ

सल्यान ।
सल्यानमा शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । यो वर्ष लगातार वर्षात भएको र खोलाहरुको पानीको सहत बढेपछि जिल्लामा किसानहरु धान रोपाईमा व्यस्त हुन थालेका छन् । जिल्लाको खाद्यन्न उत्पादनको आधा हिस्सा ओगटेको शारदा नदीका फाँटहरुमा यतिबेला किसानहरुलाई धान रोप्ने चटारो भएकोे छ ।


समयमै वर्षात भएका कारण सल्यानका अधिकाँश स्थानमा धान रोपाई समयमै शुरु भएको छ । हालसम्म जिल्लामा करिब ५०प्रतिशतको हाराहारीमा धान रोपाई सम्पन्न भइ सकेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । लकडाउन चली रहँदा समेत यहाँका किसानले रमाइलो गरेर धान रोप्ने काम सम्पन्न गरेका छन् ।
गत आर्थिक वर्षमा करिब ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यस वर्ष भने धान खेतीमा समेत वृधि हुने कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।
किसानहरुले समयमै बाँझो रहेको जमीनमा समेत धान खेती गरेकाले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि आउने उहाँले बताउनुभयो । लकडाउनले गर्दा व्यवसायिक रुपले गरिदै आएको तरकारी खेती छोडेर समेत धानखेती तर्फ लागेको हुँदा धान उत्पादनमा वृद्दि हुने उहाँले बताउनुभयो ।


कोरोना महामारीका रुपमा फैलिएपछि भएको लकडाउनले गर्दा खाद्यान्न संकट हुन सक्ने भन्दै अन्नजन्य उत्पादनका लागी अनुदान समेत पाएका किसानले कृषिलाइ निरन्तर प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार १४:४९