दुर्गममा नेपालीसेनाद्वारा सुविधा सहितको प्रसुति केन्द्र निर्माण

रमेशकुमार वली
सल्यान, १६ असार
जिल्लाको दार्मा गाउँपालिकामा नेपाली सेनाद्वारा सुविधा सहितको प्रसुति केन्द्र निर्माण गरिएको छ । प्रसुति केन्द्र निर्माण संगै प्रसुतिका लागि गाउँपालिका बाहिर जानुपर्ने लामो समय देखिको बाध्यताको अन्त्य भएको छ ।
दार्मा गाउँपालिका भित्र प्रसुति गृह नहुदा गर्भवतीमहिलाहरु प्रसुतिका लागि वागचौर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र या सल्यान अस्पताल खलंगा सम्म आउनुपर्ने बाध्यता रहको थियो । गाउँमै सुविधा सहितको प्रसुति गृह निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् ।
गाउँपालिका भित्र प्रसुति केन्द्रको सुविधा नहुदा करिव ५० किलोमिटरको दुरी पार गरेर थारमारे प्राथमिक स्वास्थ्य केन्द्र वा सल्यान अस्पताल सम्म पुग्नुपर्ने बाध्यता रहेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।“ दर्मा गाउपालिका सदरमुकाम देखि टाढा र विकट गाउँपालिका हो यहाँ सामान्य खालको सुत्केरी बनाउने सुरक्षित प्रसुति केन्द्र नहुदा समस्या हुदै आएको थियो नेपाली सेनाले प्रसुतिकेन्द्र निर्माण गरेपछि गाउँमै गर्भबती महिलाहरुलाई प्रसुति गराउन सकिनेछ,” अध्यक्ष केसीले भने ।
केन्द्रमा प्रसुति गराउनका लागि आवश्यक सामाग्रीहरु मध्ये केही गाउँपालिकाको तर्फबाट खरिद गरेर उपलव्ध गराउने निर्णय समेत भएको अध्यक्ष केसीले जानकारी दिए ।“ दार्मा गाउँपालिकामा प्रसुति केन्द्र सञ्चालन भएपछि गाउँपालिका भित्रका ७ सय घरधुरीहरु प्रत्यक्ष लाभान्वित भएका छन्, गाउँपालिका भित्र पुर्ण सुविधा सहितको प्रसुति केन्द्र निर्माण हुदाँ हामी पनि खुशी भएका छौ,” अध्यक्ष केसीले भने ।
नेपाली सेनको मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलको संयोजनमा तथा सवुज गण सिमखर्कको आर्थिक तथा प्राविधिक सहयोगमा ४ कोठे प्रसुति भवन निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । गएको वैशाख देखि काम शुरु गरिएको भवन निर्माणका लागि २५ लाख रुपैया खर्च गरिएको छ भने भवन निर्माण गर्नका लागि सवुजगणको ३० जना नेपाली सेनाको टोली खटाइएको सवुज गण सिमखर्कले जनाएको छ ।
नेपाली सेनाले प्रसुति भवन संगै प्रसुति बनाउनका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत उपलव्ध गराएको छ । यस अघि नै दर्मा गाउँपालिकाले त्रिवेणीमा प्रयोगशाला परीक्षण सहितको स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ । नेपाली सेनाले गाउँमै सुविधा सहितको प्रसुति केन्द्र सञ्चालनमा आएपछि स्थानीयहरु खुशी भएका छन् ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार १५:०४