बाफिकोट गाउँपालिका पुग्ने सडकको स्तरोन्नती शुरु

प्रचण्ड खत्री
रुकुम पश्चिम- रुकुम पश्चिमको बाफिकोट गाउपालिका जाने मुख्य सडक स्तारोन्नती शुरु भएको छ । जसका कारण अहिले उक्त सडक अवरुद्ध बनेको छ । सडक स्तारोन्नती कार्यले गर्दा सडब अवरुद्ध भएपछी ठुला तथा साना गाडीहरु सेराखेत हुदै सिम्तारुबाट नेटाबजार हुदै गाउपालिका पुग्ने गरेको बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जानकारी दिए ।

बाफिकोट गाउपालिका वडा नम्बर ४ बिराले बस्तीबाट बाफिकोट ३ दह सम्म बाटो चौडा गराउने कार्य अहिले भइरहेको छ । साथै बिचबिचमा ग्राभेल पनि भइरहेको उनले बताए । बाह्रै महिना गाडी चल्ने गरि सडकको स्तरोन्नती गरिने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । उनका अनुसार सडकको चौडाइ ७ मिटर हुने छ भने नाला समेत निर्माण गरिने छ ।

प्रदेश सरकारको शसर्त अनुदानको १ करोड ५० लाखमा निर्माण गरिने बाटोको काम अहिले धमाधम चलिरहेको छ । डाफे बिल्डर्श प्रालि जाजरकोटले कामको जिम्मा पाएको प्रालिका प्रतिनिधि हरिचन्द मल्लले जानकारी दिए । १ करोड ५० लाखको काम ५१ लाखमा सम्पन्न गर्नेगरी सम्झौता भएको उनले बताए ।

उक्त सडक स्तर उन्नती कार्य अहिले धमाधाम चलिरहेका बाफिकोट गाउपालिकाका ओभरसियर दल बहादुर ओलीले बताए । बाटो निर्माण भएपछी स्यार्पुताला हेर्न आउने पर्यटक, गाउपालिकामा काम गर्न जाने स्थानीय व्यक्ति , १० वटै वडाका स्थानीयलाई सहज हुनेछ ।

खोला बढेपछी सदरमुकाम पुग्न सकस्या

यसैविच बाफिकोट गाउपालिकाका २ वटा खोला वारपार गर्न समस्या भएको छ । वडा नं १ र २ वडाको बिचमा पर्ने पुमाखोला र ३ र ४ को बिचमा पर्ने तिल्चा खोलामा पानीको सतह बढेर कलभर्ड भन्दा माथिबाट आयपछी यात्रा गर्न असहज भयको बाफिकोट ४ बालुवाचौरका मन बहादुर के सीले बताए ।

दुवै खोलामा पानीको सहत बढेपछी सिस्ने गाउपालिका ३ र ४ का स्थानीय र बाफिकोट गाउपालिका वडा नम्बर १ , २ र ३ का केहि भागका स्थानीयलाई सदरमुकाम जान र आउन समस्या हुने गरेको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १६:०९