सल्यानको दुर्गम गाउँ दार्मामा सेनाले बनायो सुविधा सम्पन्न प्रसुति केन्द्र, सात सय परिवार लाभान्वित

सल्यान
जिल्लाको दार्मा गाउँपालिकाको अति विकट त्रिवेणीमा सुरक्षित प्रसुती सेवा संचालनमा आएको छ । नेपाली सेनाद्वारा सुविधा सहितको प्रसुति केन्द्र निर्माण भएपछि सुरक्षित प्रसुती सेवा संचालनमा आएको हो । सेनाले बुधवार एक कार्यक्रमका बीच दार्मा ५ त्रिवेणीमा निर्मित भवन दार्मा गाउँपालिकालाइ हस्तान्तरण गरेको छ ।


भवन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली सेनाका १९ नम्बर बाहिनी तुलसीपुरका बाहिनीपति शुशिल कुमार भण्डारीले दार्मा गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । उहाँले पछिल्लो समयमा दुर्गम क्षेत्रमा प्रसुती व्यथाले ज्यान गुमाउनु पर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले कुनै पनि प्रसुति व्यथा लागेको महिला समस्यामा परेमा हेलिकोप्टर तयारी अवस्थामा रहेकोले समस्या नहुने बताउनुभयो । उहाँले हेलिकप्टरको सहज सेवाका लागी स्थानिय स्तरमा हेलिप्याड बनाउने काम भैरहेको समेत बताउनुभयो ।


गाउँमा प्रसुति केन्द्र निर्माण भएसंगै प्रसुतिका लागि गाउँपालिका बाहिर जानुपर्ने लामो समय देखिको बाध्यताको अन्त्य भएको स्थानियले बताएका छन् । यस अघि प्रसुति केन्द्र नहुदा गर्भवती महिलाहरुले विभिन्न समस्या भोग्नुका साथै प्रसुती हुन समेत लामो दुरीको जोखिमपुर्ण यात्रा गरेर अन्य पालिका तथा सदरमुकाममा ल्याउनुपर्र्नेे बाध्यता थियो ।

त्रिवेणीका गर्भवती महिलाहरुलाइ प्रसुतिका लागि जिल्ला अस्पताल सल्यान र छिमेकी जिल्ला रुकुम वा दाङ लग्नु पर्ने बाध्यता हटेको गाउँपलिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली सेनाले यस गाउँपालिकामा निर्माण गरेको प्रसुति गृह भवनले सेनासंगको जनताको सम्बन्ध अझै बलियो बनाइ दिएको बताउनुभयो ।


दार्मा गाउँपालिका सदरमुकाम देखि टाढा र विकट गाउँपालिका हो । ढाकाडाममा सामान्य खालको सुत्केरी बनाउने सुरक्षित प्रसुति केन्द्र नहुदा समस्या हुदै आएको थियो । नेपाली सेनाले प्रसुतिकेन्द्र निर्माण गरेपछि गाउँमै गर्भबती महिलाहरुलाई प्रसुति गराउन सकिनेछ,अध्यक्ष केसीले भन्नुभयो । उहाँले यस कार्यका लागी नेपाली सेनालाइ धन्यवाद समेत व्यक्त गर्नु भयो ।

केन्द्रमा प्रसुति गराउनका लागि आवश्यक सामाग्रीहरु मध्ये केही गाउँपालिकाको तर्फबाट खरिद गरेर उपलव्ध गराउने निर्णय समेत भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । दार्मा गाउँपालिकामा प्रसुति केन्द्र सञ्चालन भएपछि गाउँपालिका भित्रका ७ सय घरधुरीहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।गाउँमै सुविधा सहितको प्रसुति गृह निर्माण भएपछि स्थानीयहरु समेत खुशी भएका छन् ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलको संयोजनमा तथा सवुज गण सिमखर्कको आर्थिक तथा प्राविधिक सहयोगमा ४ कोठे प्रसुति भवन निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । सवुजगणको ३० जना नेपाली सेनाको टोलीले २५ लाखको लागतमा भवन निर्माण गरेका हुन् ।साे अवसरमा गाउँपालिकाले भवन निर्माणमा सहयाेग गर्नेहरूलाइ मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार १८:५३