
रमेश कुमार वली
सल्यान, २२, साउन । सल्यानको छत्रेश्वरी गाउँपालिकाका केही वडाध्यक्षहरुले नजायज माग राखेर गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकामा अहिले सम्म बजेट स्वीकृत हुन नसकेको गाउँपालिकाले जनाएको छ । बाम पक्षधर ५ जना वडाध्यक्षहरुले गाउँपालिकमा २० बर्षदेखि कार्यरत कर्माचारीहरुलाई हटाउनु पर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका सम्पुर्ण कार्य रोकिएका छन् ।
गाउँपालिकामा वडाध्यक्षहरुले उठाउने अरु कुनै एजेण्डा नभएपछि करार कर्मचारी हटाउनुपर्ने नजायज माग राखेर वजेट पास हुनबाट रोकेको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । “गाउँपालिका भित्र गलत कार्य भएको छ भन्ने उहाँहरुसंग कुनै पनि एजेण्डा र बिषय नभएपछि गाउँपालिकामा रहेका करार कर्मचारी हटाउनुपर्ने वेमौसमी माग राख्नु भएको छ,” अध्यक्ष केसीले भने ।
विहिबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष केसीले अहिले पनि गाउँपालिकामा कर्मचारीहरुको आवश्यक रहेको जानकारी दिए ।“हिजो उहाँहरुकै सहमतिमा कर्मचारी भर्ना गरिएको हो उहाँहरुकै सहमति र कार्यपालिकाको निर्णय गरेर कर्मचारी भर्ना गरिएको हो, उहाँहरुका सहमति र निर्णयविना एउटा कर्मचारी पनि भर्ना गरिएको छैन अनि विचमा आएर उहाँहरुको कस्तोखाले माग हो यो ?” अध्यक्ष केसीले भने “आज पनि विद्यालयहरुमा शिक्षक नपुगेर भर्ना गर्नुपर्ने अवस्था छ, गाउँपालिकामा कर्मचारी बढि भएका छन् भने विद्यालयमा काजमा पठाएर काममा नि लगाउन सकिन्छ तर उहाँहरुले भने जस्तो कर्मचारी हटाएर गाउँपालिकामा कुनै कायाँपलट हुदैन,”
गाउँपालिाकाम बजेट नआउदा र समयमा पास नहुदा आफुलाई मात्रै त्यसले हानी नपु¥याउने उनको भनाई छ ,“करार कर्मचारीकै हकमा भन्ने हो भने वडा नं. २ मा सवैभन्दा बढि कर्मचारीहरु खटिएका छन् त्यहिका वडाध्यक्षले २० बर्ष देखि गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई पनि हटाउनुपर्छ भन्नु हुन्छ, तर मैले कर्मचारीहरुप्रति अन्याय गर्न कुनै हालतमा दिदैन, बजेट पास नहुदा उहाँहरुलाई पनि क्षति हुने हो,” अध्यक्ष केसीले भने ।
गाउँपालिकामा वजेट स्वकृत नहुदा उहाँहरुको पनि सेवा सुविधा रोकिने अध्यक्ष केसीले बताए “ बजेट पास नभएपनि मलाई मात्रै अव चिन्ता छैन, गाउँपालिका उहाँहरुको पनि हो, कर्मचारी पनि यहि गाउँपालिका भित्रकै हुन, वजेट पास नभए उहाँहरुको सेवा सुविधा नि रोकिन्छ, यसले अध्यक्षलाई मात्र असर गर्दैन उहाँहरुलाई नि गर्ने हो,” अध्यक्ष केसीले भने ।
जिल्लाका १० वटै स्थानीय तहहरु मध्ये आफुले उत्कृष्ट काम गर्ने उद्देश्यले काम गरिरहेको भन्दै वहुमतको नाममा पटक पटक घेरावन्दी गर्न खोजिएको उनको भनाई छ,,गाउँपालिकामा उहाँहरुकै सहमतिमा सवै काम भएका छन्, वडाध्यक्षकै छोराछोरी गाउँपालिकामा करारमा कार्यरत छन् उहाँहरुले आफनै विरुद्ध छोराछोरी आन्दोलनमा उतार्नु भएको छ, अध्यक्ष केसीले भने ।
गाउँपालिका भित्र कुनै पनि किसिमका चलखेल हुन नदिएकैले आफुलाई असफल बनाउन लागेको उहाँको भनाई छ, “कार्यपालिकाको वैठकमा पेश हुने धेरै एजेण्डाहरु हुन्छन् नियत सफा भए उहाँहरुले अरु मागमा निर्णय गरेर एउटा निर्णयमा नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ तर उहाँहरु बोलाएका कुनै वैठकमा उपस्थिति नभएर बाहिर बाहिर कुरा गरिरहहनु भएको छ,” अध्यक्ष केसीले भने ।
अध्यक्ष केसीले यस्तै परिस्थिती रहि रहे कानुनवमोजिम अगाडी कदम चाल्ने जानकारी दिए ।“सके सम्म उहाँहरु अव गाउसभामा आउनुहुन्छ यदि आउनुभएन भने अव कानुनवमोजिम अगाडी बढ्छौ.” अध्यक्ष केसीले भने । यस विषयमा वडाध्यक्षहरुलाई फोन सम्पर्क गर्न खोज्दा वडा नं. २, ५ र ३, नम्वर वडाध्यक्षहरुको फोन स्वीचअफ गरिएको थियो ।
यता करारमा नियुक्त भएका, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकले विगत ५ दिन देखि गाउँपालिकामा हाजिर गराउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकाले शुरुमा आफुहरुलाई कार्यपालिकाको निर्णय अनुसार राखेकोले निरन्तरता दिनुपर्ने उनिहरुको माग छ ।
प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार १७:०६