
प्यूठान- प्यूठानको माण्डवी गाउँपालिकाको कार्यालय अनिश्चित कालका लागि सिल गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए ।
गाउँपालिकामा कार्यरत एक पुरुषमा संक्रमण पुष्टि भएको हो । अर्को सूचना जारी नहुँदासम्म अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको उनले बताए । “अन्य कर्मचारीको स्वाब संकलन गर्दै छौं” प्रशासकीय अधिकृत रिजालले भने, “स्वाबको नतिजाको आधारमा काम सुचारु गर्छौ ।” माण्डवी गाउँपालिकामा हालसम्म ८३ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
यस्तै जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएको संख्या ३ सय ७५ पुगेको छ । संक्रमितमध्ये ३ सय ३७ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका कोलचेन निरीक्षक कौशलराज वैद्यले बताए । जिल्लामा हाल संक्रमीत ३८ जनामध्ये २१ जना इन्द्रध्वज गण प्यूठानमा कार्यरत नेपाली सेना छन् । सोमबार १४ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप ७ जनामा संक्रमण पुष्टि भई २१ पुगेको हो । यस्तै ३ जना थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षणका लागि हालसम्म जिल्लामा ३ हजार ४ सय ७० जनाको स्वाव संकलन भएको छ । जसअन्तर्गत सोमबारसम्म २ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार १२:२६