लागू औषध ब्राउनसुगर सहित तीनजना पक्राउ, स्कारपियो गाडी पनि बरामद

दाङ– लागु औषध ब्राउन सुगर सहित दाङ देउखुरीबाट तीन जना पक्राउ परेका छन् । लमही नगरपालिका २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलबाट ब्राउन सुगर सहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार राती साढे १२ बजेतिर होटल बाटै पक्राउ गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षिय शालिकराम सारुमगर, उनकी श्रीमती ३३ बर्षिया पार्वती सारु मगर र सोहि ठाउँका ३२ बर्षिय चन्द्रबहादुर बगाले मगर रहेको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिए । गोप्य सुचनाको आधारमा प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट खैरो रङको धुलो पदार्थ ३९ ग्राम र उनीहरुले प्रयोग गर्ने गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी बरामद गरेको छ । सोहि होटेलको माथिल्लो तलाको कोठामा बसीरहेका शालिक राम सारुमगरको शरीर खानतलासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १२:५९