Kareshma Giri

  • १६ भाद्र २०७७, मंगलवार १२:०८

सल्यानमा बाल विवाह गर्न गराउन खोजेको आरोपमा पाँच जना पक्राउ

करेश्मा गिरी , सल्यान ।

सल्यानमा बाल विवाह गर्न गराउन खोजेको भन्दै पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका –८ गैरा गाउँ निवासी २५ वर्षीय बेहुला दिपेन्द्र शर्मा र बाँके बैजनाथ गाउँपालिका –१ गाभर निवासी १८ वर्षीया बेहुली सहित पाँच जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
भदौ १४ गते बेहुलाको घरमा बाल विवाह भइ रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोहीदिन घटनास्थलबाटै विवाहमा संलग्न बेहुलाका बुवा ६५ वर्षीय रमेश प्रसाद शर्मा, आमा ५९ वर्षीय कुन्ता शर्मा र विवाह गराउन संलग्न पुरोहित बागचौर नगरपालिका–१ ठिनबाँग निवासी ७० वर्षीय दुर्गादत्त शर्मालाइ मन्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी खतिवडाको भनाई छ ।
पक्राउ परेका विरुद्ध जिल्ला अदालत सल्यानबाट भदौ १५ गते म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलवार १२:०८