कर्णाली प्रदेशमा विपद् बिमा शुरू,मृतक परिवारलाइ २लाख,घर पूर्ण क्षति भएकालाई थप १ लाख दिइने

कालीकाेट ।

कर्णाली प्रदेशमा विपद् बिमा कालिकोटबाट सुरूवात गरिएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साउन ११ को पहिरोमा सात जना आफन्त गुमाएका नरहरिनाथ–७ माल्कोटका ५२ वर्षीय पदमबहादुर बुढालाई २ लाख रुपियाँको साङ्केतिक चेक हस्तान्तरण गर्दै विपद विमाको सुरूवात गर्नु भएको हो ।कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको सामूहिक बिमा गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावलसहितको सहभागितामा कालिकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् बिमाको सुरूवात गरिएको छ ।विपदमा परेर ज्यान गुमाएका पीडितको खातामा गृह मन्त्रालयमार्फत  कर्णाली प्रदेश सरकारको विपद् बिमा बापतको २ लाख रुपियाँ जम्मा गरिएको छ ।

घर पूर्ण क्षति भएकालाई थप १ लाख रुपियाँ र सम्पत्ति सबै क्षति भएकालाई तीन महिनासम्म खाद्यान्न पनि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।कालिकोटमा मात्र पहिरोमा परी ५१ जनाले ज्यान गुमाएको र एक जनाको काठमाडौँमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार १३:५४