कभर खबर

  • २६ कार्तिक २०७७, बुधबार १६:५१

दाङको तुलसिपुरमा साउनयता जन्मेका छोरीको खातामा हरेक महिना एक सय रुपैयाँ

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १०० रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औं बैठकले कार्यविधि पारित गरेको हो ।

‘स्मार्ट छोरी, बिहेवारी २० वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ । उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीको बैंक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसका लागि चालू आर्थिक वर्षमा बजेट समेत छुट्याइएको छ ।

यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिन भित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।

जन्मेको पहिलो महिनामा १ हजार २०० र त्यसपछि हरेक महिना १०० रुपैयाँका दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाइ छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरूपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताइन् ।

बाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक १०० रुपैयाँ जम्मा गर्ने भए पनि आवश्यकताअनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाउन सकिने समेत उपप्रमुख आचार्यको भनाइ छ ।

कार्यविधिअनुसार समयअगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाइ भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार १६:५१