सल्यानमा सिल क्षेत्र अवज्ञा गरे गराएको पाइएमा कार्वाही हुने

सल्यान .
जिल्लाको विभिन्न स्थानमा गरिएको सिलक्षेत्र भित्र निशेधित कार्य गर्न नपाइने भएको छ ।सिलको अवज्ञा गरि निषेधित कार्य गर्ने जो कोहीलाइ पनि कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय सल्यानले खबरदारी गरेको छ ।

निषेधित क्षेत्रमा कोभिड संक्रमण फैलाउने कार्य गरे गराएको पाइएमा कसूर मानी कसूरदारलाई प्रहरी मार्फत नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल तोकिएको जरिवाना वा कैद सजाय हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।

समुदायमा कोभिडको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार सहित आसपासको क्षेत्रमा गरिएको सिलको अवधि समेत बढाएको छ ।गत कात्तिक २३ देखि २९ गतेसम्म पहिलो पटक र कात्तिक २९ देखि मंसिर ६ गतेसम्म दोस्रो पटक गरी १४ दिन सिल गरेको बजार क्षेत्रमा तेस्रो पटक मंसिर ७ गतेदेखि १० गते सम्म सिलको समयावधि थपिएको कार्यालयले जनाएको छ ।

कोभिड १९ को जोखिम सम्भाव्यता र संवेदनशिलताको मुल्याङकन गरी बजार क्षेत्र र सो आसपासका स्थानमा सिल अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शारदा नगरपालिकाको वडा नम्बर १ को चैवाङ ज्यूला, शान्तिनगर, श्रीनगर बजार, छापडाँडा, दारिमचौर र पटनेरी, वडा नम्बर २ को जोगिदेउखोला र वडा नम्बर ६ को बरला आसपासका क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ ।

यस्तै जिल्लाको बागचौर नगरपालिका ‘१२ दोभान बजार अनिश्चित कालको लागी सिल गरिएको छ । कोरोनाको लक्षण सहित स्थानीयमा संक्रमण देखिएकाले वडा कार्यालयको निर्देशन र बजार ब्यवस्थापन समितिको निर्णय बमोजिम आज मंसिर ६ गते देखि अनिश्चित कालको लागि सिल गरिएको हो ।

पुर्वमा रोल्पाको सिमाना दर्का, पश्चिममा खौला, उत्तरमा रुकुम सुकिदह सिमाना र दक्षिणमा वडा नम्बर ११ को रातामाटा क्षेत्र भित्र सिल गरिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर वलीले बताए।

यस अबधिमा सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बित्तीय संस्था, पसल, ब्यवसाय लगाएत सम्पुर्ण बन्द गरिएको र अतिआवश्यक सेवाहरु बिहान ८ बजे देखि ९ बजे सम्म संचालन गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार १७:३५