सल्यानमा ५ वर्षीया बालिका बलात्कारको शिकार,१३ वर्षीय आरोपित प्रहरी नियन्त्रणमा

सल्यान .
सल्यानमा ५ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । मंसिर ११ गते त्रिवेणी गाउँपालिकाको एक विद्यालयबाट पढेर घर फर्किने क्रममा अबोध बालिकालाइ बाटोमा गाउँकै १३ वर्षीय बालकले बलात्कार गरे । आर्थिक अवस्था कमजोर परिवारकी बालिकाका बुवा मजदुरी गर्न अर्को गाउँमा गएका थिए । घटना पछि घरमा भनेपछि पिटाइ खाने डरले बालिकाले त्यो पीडा कसैलाइ भनिनन् ।
तर पछि पिडा असह्य भएपछि गाउँमै विवाह भएकी फुपुसंग बालिकाले घटना बारे बताइन् । बालिकाको कुरा सुनेर आत्तिदै पीडित बालिकाका बुवालाइ फुपुले फोन गरेपछि मात्र न्यायका लागी सदरमुकाम आएको पीडित बालिकाका बुवाले बताउनुभयाे ।
घटनालाइ बालिकाको उपचार खर्च बेहोर्ने गरि घटना मिलाउन पीडक पक्षले दबाव दिन थालेपनि छोरीको न्यायका लागी पीडित बालिकाका बुवा सोमवार सदरमुकाम खलंगा स्थित जिल्ला प्रहरी कार्यालय सल्यानमा पुग्नुभयाे । प्रहरीले घटना बारे थाहा पाएपछि जाहेरी ल्याएर आउन भनेपछि आर्थिक अवस्था कमजोर रहेका कारण घटनाको जाहेरी दिन समेत समस्या भएको पीडित बालिकाका बुवाले बताउनुभयाे ।
म संग मजदुरी गरेर बचाएको एक हजार रुपैयाँ थियो,उहाँले भन्नुभयाे,त्यही लिएर जिल्ला सदरमुकाम खलंगा आएको हुँ,तर पैसा छैन भने हामी जाहेरी लेख्दैनौं भनेर केही वकीलहरुले जाहेरी लेख्न नमानेपछि फिर्ता हुन लागेको हुँ ।
यस घटना बारे जाहेरी नदिन भन्दै धम्की र दबाव समेत आइ रहेको छ उहाँले भन्नुभयाे ,पीडक पक्षले प्रहरीमा गएर मुद्दा दर्ता नगर्न दबाव दिंदै आएको छ ।
घटना बारे थाहा पाएपछि मानव अधिकारको क्षेत्रमा कृयाशील इन्सेक र रेस नेपालले पीडितलाइ निशुल्क रुपमा जाहेरी लेख्ने व्यवस्था गरेपछि सोमवारनै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्ता भएको प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयाे । आरोपित बालकलाइ समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार २०:३९