कभर खबर

  • १९ मंसिर २०७७, शुक्रबार १२:१५

अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा अधिकार सुनिश्चित हुनुपर्ने सल्यानका सराेकारवालाहरूकाे जाेड

सल्यान ।

शारदा नगरपालिका सल्यानको आयोजना र कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानको सहकार्यमा बिहीबार सल्यान सदरमुकाम खलंगामा २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।

‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमन को सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवश मनाइएको हो ।

शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयाे ।

उहाँले अपाङ्गताको क्षेत्रमा बिबिध कानुन निर्माण भएपनि कार्यान्वयनमा केही समस्या भएको बताउदैँ शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका सम्पूर्ण क्षेत्रहरुमा समाबेशिता आबश्यक रहेको बताउनुभयाे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले हरेक क्षेत्रमा पछाडी परेका अपाङ्गता भएका नागरिकहरुको हकहितका लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले नगरपालिकाले सञ्चालन गर्ने सबै गतिबिधिहरुमा अपाङ्गता भएका ब्यक्तिहरुलाई समाबेश गर्ने बताउनुभयाे।

सो अवसरमा कल्याणकारी अपांग सेवा संघ सल्यानका टेक बहादुर चलाउनेले ध्यानाकर्षण पत्र शारदा नगरपालिकाका उपप्रमुख बस्नेतलाई बुझाउनुभयाे ।

कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले स्वागत मन्तब्य व्यक्त गरेकाे  कार्यक्रममा शारदा नगरपालिका भित्रका अपाङ्गता भएका ऋषिराज भण्डारी र पबित्रा बिकलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार १२:१५