
सल्यान ।
लकडाउनको अवधिमा सल्यानमा आपराधिक घटनाहरुमा बृद्धि भएको पाइएको छ । गत आर्थिक बर्ष ०७५ चैत ११ गते देखी २०७६ साल मंसिर २१ गते सम्मको भन्दा सरकारले घोषणा गरेको लकडाउन देखी हाल सम्मको तथ्यांकलाई हेर्दा आपराधिक गतिविधिहरुमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
आइतबार जिल्ला सदरमुकाम खलंगामा शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सो प्रतिवेदन पेश गर्नुभयो ।
सल्यान प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक गोबिन्द थापाले लकडाउनको अवधिमा भएका आपराधिक गतिबिधिहरुको तथ्यांक सार्वजनिक गर्दै गत वर्षको सोही अवधिको भन्दा धेरै घटनाहरु भएको बताउनुभएको हो ।
डिएसपी थापाका अनुसार जिल्लामा लकडाउन शुरु भएदेखी हाल सम्ममा ५१ वटा आपराधिक घटनाहरु भएका छन् । अघिल्लो आर्थक बर्षको सोही अवधिमा ४७ वटा मात्रै आपराधिक घटनाहरु भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस अबधिमा जवरजस्ती करणी र उद्योगका २८, बालबिवाहका ३ र बहुबिवाहका २० वटा घटनाहरु घटेका छन् । अघिल्लो आर्थिक बर्षको सोही अबधिमा जवरजस्ती करणी र उद्योगका १९, बालबिवाहका ५ र बहुबिवाहका २३ वटा घटनाहरु घटेका थिए ।
अघिल्लो वर्षको तुलनामा यस अबधिमा ४ वटा बढी आपराधिक घटनाहरु भएको उहाँको भनाई छ । यस्तै लकडाउन देखी हाल सम्ममा ७२ जनाले आत्महत्या गरेका छन्। कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय सल्यानका प्रमुख, सहायक न्यायधिवक्ता भीमसेन काफ्ले र महिला इन्सेक जिल्ला प्रतिनिधी तथा प्रत्रकार मिना बुढाथोकीले लैगिक हिंसा र मानवअधिकारका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, बागचौर नगरपालिका उपप्रमुख कल्पना पुन, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा लगाएतको बोल्नुभएको थियो ।शारदा नगरपालिकामा कार्यरत सिता मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक लक्ष्मण ओलीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार ०९:५१