सल्यानमा इन्सेकको मानवअधिकार वर्ष पुस्तक २०२१को पुर्व समिक्षा सम्पन्न

सल्यान ।
मानवअधिकार हननका घटना कम गर्नका लागी अझैँ प्रतिवद्ध भएर लाग्ने जिल्लामा आयोजित एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । पछिल्लो पटक पीडित लाई न्याय दिलाउनको लागि जिल्लामा सरोकारवालाहरु को भुमिका प्रशंसनीय भएको र जसको फलस्वरूप न्यायमा पहुँच बढ्दै जाँदा पनि घटना कमी हुदै गएको सहभागीहरुले बताए ।
इन्सेक नेपालको आयोजनामा सल्यान सदरमुकाम खलंगामा आयोजित वर्ष पुस्तक २०२१ का लागी संकलन गरिएका मानव अधिकार उल्लंघनका घटनाको वार्षिक पुर्व समिक्षा तथा पुर्नपुष्टि कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्लेले पीडित मात्रै नभएर आरोपित को समेत न्यूनतम ग्यारेन्टी हुने गरी काम गरिरहेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुले मानवअधिकार हनन को घटनाका कारक तत्व पत्ता लाई जनचेतना जगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले न्यायिक प्रक्रिया पछि पनि पीडितलाई सामाजिक पुनर्मिलनको लागि निरन्तर फलोअप हुनु पर्ने बताउनु भयो ।


कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले प्रहरीले मानवअधिकार हनन नहुने गरी काम गरिरहेको बताउनु भयो । स्थानीय तहमा भएका न्यायिक निकायलाई अझै प्रभावकारी र विश्वसनीय बनाउने हो भने यस्ता घटना अझै कम हुने उहाँले बताउनुभयो ।
नेपाल बार एसोसिएसन सल्यानका अध्यक्ष लाल बहादुर रावत ले कानुनी प्रकृया अहिले पनि झन्झटिलो भएकोले यसलाई अझै छिटो छरितो बनाएमा पीडितलाई छिटो न्यायको अनुभूति हुने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल की अध्यक्ष सोवित बस्नेतले मानव अधिकार को रक्षाको लागि इन्सेक ले जिल्लामा प्रशंसनीय भूमिका खेलेको बताउनु भयो ।


कार्यक्रममा सल्यानमा मानव अधिकार उलंघनका घटनामा कमी आएको भएपनि बलात्कारको स्थीति भयावह रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सदरमुकाम खलंगामा ५६ वटा मानव अधिकार हननका घटनाको तथ्यांक सार्बजनिक गर्दै ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले विगतका वर्षहरुमा भन्दा यस बर्ष मानव अधिकार उलंघनका घटनामा कमी आएको जानकारी दिनुभयो । जसमा सबै भन्दा धेरै बालअधिकारका २४ वटा घटना घटेका छन् ।
यस्तै महिला अधिकारका २२ वटा, भौतिक संरचना क्षतीका ४ वटा, नागरिक तथा सामाजिक अधिकारका ४ वटा र बाँचन पाउने अधिकारका २ वटा रहेका छन् । वर्षभरीको तथ्यांकलाई हेर्दा बलात्कारका घटना धेरै भएको बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार १९:५२