कभर खबर

  • २६ मंसिर २०७७, शुक्रबार १५:१५

विकास प्रक्रियालाई पूर्ण रूपमा नागरिक केन्द्रित गर्नुपर्नेमा अध्यक्ष सेनको जोड

सल्यान- जनप्रतिनिधी, कर्मचारी, नागरिक विच विकासका सन्दर्भमा साझा बुझाई निर्माण गर्न भन्दै सल्यानको कपुरकोटमा जनकेन्द्रीत विकास अवधारणा बारे कार्यशाला शुरु भएको छ । कपुरकोट गाउँपालिकाको आयोजना र दलित विकास समाज सल्यानको समन्वयमा जनकेन्द्रीत विकास अवधारणाका लागि प्रशंसा सहितको तीन दिने कार्यशाला गोष्ठी शुक्रबार देखी शुरु भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले विकास प्रक्रियालाई पूर्ण रूपमा नागरिक केन्द्रित गर्नुपर्नेमा आफुहरु लागिरहेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमासमुदायको निर्णायक सहभागिता रहने विकास आवश्यक रहेकोमा जोड दिए ।


कार्यशाला गोष्ठीको उद्देश्यमाथी प्रकाश पार्दै सहकर्मि समाज कोहलपुरका वरिष्ठ संस्थागत क्षमता विकास संयोजक राजाराम गुप्ताले निर्वाचित जनप्रतिनिधिहरुको धारणागत ब्यवहारमा परिवर्तन गर्दै आवश्यक योजना निर्माण तथा कार्यान्वयन सीप र सिमान्तकृत तथा पछी पारिएका नागरिकहरुलाई स्थानीय सरकारका सेवा सुविधाहरु माथिको पहुंच स्थापित गर्नका लागि नागरिक केन्द्रित विकास आवश्यक रहेको बताए । उनले स्थानीय नागरिकले आफ्ना समस्या आफै पहिचान गर्दै विकासलाई छिटो, टिकाउ र कम खर्चिलो बनाउनका लागि विकासमा जनसहभागीताको महत्व अत्यन्तै रहेकोमा जोड दिए ।

दलित विकास समाज सल्यानका कार्यक्रम संयोजक गुमानसिंह नेपालीले सञ्चालन गरिरहेको कार्यशालामा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु र नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता छ ।

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार १५:१५