राप्ती राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती

सल्यान — राप्ती राजमार्गअन्तर्गत कपुरकोट–चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो ।
२०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम/शंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । १ वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ ।

ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि उपेक्षा भएको कपुरकोटका कमल शर्माले बताए । उनका अनुसार टेन्डर भएको लामो समयसम्म पनि काम पूरा हुन सकेको छैन ।

अहिले कपुरकोटदेखि चोरखोलासम्मको ८ किलोमिटर सडकमा स्तरोन्नतिको काम चलिरहेको छ । ‘यो ढिलाइले यात्रुलाई पनि सास्ती छ,’ स्थानीय अविनाश केसीले भने, ‘ठेकेदारले जथाभावी थुपारेको ढुंगामाटोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।’ उनका अनुसार सडक स्तरोन्नतिका लागि स्थानीय प्रशासनले दैनिक ८ घण्टा यातायात बन्द गरे पनि ठेकेदार कम्पनीले खासै काम गरेको देखिएको छैन ।

यसअघि कपुरकोटबाट तुलसीपुर जान झन्डै २० मिनेट समय लाग्ने गरेकोमा अहिले सडकको दूरवस्थाका कारण कम्तीमा १ घण्टा लाग्ने गरेको स्थानीय तिलक शर्माले बताए । ‘अकस्मात् रातिमा कोही बिरामी भए अस्पताल लैजान पनि समस्या भयो,’ उनले भने, ‘यात्रुलाई यो खण्डमा ठाउँठाउँमा झर्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनले सडकमा गुणस्तरीय कामसमेत नभएको आरोप लगाए ।

राप्ती राजमार्गमा टालटुल पारेर बजेट खर्च गर्नुभन्दा दीर्घकालीन विकासको बारेमा सोच्नुपर्ने बेला आएको उनले बताए । सडककै दूरवस्थाका कारण दुर्घटनाको जोखिम पनि बढिरहेको एकिकृत समाजवादीका जिल्ला सचिव रमेशकुमार गौतमले बताए । ‘राप्ती राजमार्ग सधैं टालटुलमै सीमित रहने भयो,’ उनले भने, ‘पहिलो वर्ष गरिएको मर्मत अर्को वर्ष पनि नटिक्ने समस्या छ ।’ विगतमा राजमार्गलाई चौडा बनाउन र कालोपत्र गर्न आएको झन्डै १ करोड रकम फ्रिज हुनु सडक डिभिजन कार्यालयको लापरबाही भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले राजमार्गअन्तर्गत कपुरकोट–चोरखोला सडकमा स्तरोन्नति थालिएपछि दैनिक ८ घण्टा सडक बन्द भइरहेको बताइन् । ‘गुणस्तरीय काम गर्न ठेकेदार कम्पनी र सडक डिभिजनलाई निर्देशन दिइएको छ,’ उनले भनिन्, ‘हामीले अनुगमनलाई पनि निरन्तरता दिएका छौं ।’

सडक डिभिजन कार्यालय दाङका प्रमुख रामकुमार जैसवालले स्तरोन्नति गरिरहेको सडकखण्डमा बाह्रै महिना पहिरो खस्ने भएकाले काममा ढिलाइ भइरहेको बताए । उनका अनुसार करिब १० करोड रुपैयाँ बजेटबाट सडक स्तरोन्नतिको काम भइरहेको छ । यो वर्ष कपुरकोटदेखि खारासम्मको ७६ किलोमिटर सडक मर्मतमा थप २३ करोड ३० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २८ पुष २०७८, बुधबार १३:४३