
‘होल बडी’ जाँचको व्यापार
‘होल बडी’ जाँचको नाममा भारत र थाइल्यान्डजस्ता देशका अस्पताल मुनाफा लुट्न तँछाडमछाड गरिरहेका छन्, जुन नेपालमा फैलँदो छ
स्वास्थ्य व्यवसायी र ग्राहक दुवै पक्षको निकै प्रिय रहेको ‘होल बडी चेकअप’का अनगिन्ती समस्याबारे सेवाग्राही बेखबर छन् । ‘होल बडी’ जाँचले सेवाग्राहीको अनावश्यक खर्च भएको मात्र छैन, स्वास्थ्यमा जोखिम पनि बढेको छ । यस्तो जाँचका मूल समस्याबारे र उपयुक्त किसिमको रोगनिरोधी स्वास्थ्य सेवा कसरी दिइनुपर्छ भन्नेबारे लेखमा चर्चा गरिनेछ ।
बाहिरबाट नदेखिए वा अनुभव नगरिए पनि शरीरमा रोग छन् कि छैनन् जाँचेर ढुक्क पारिदिने, रोग भए सुरुकै अवस्थामा पत्ता लगाएर रोग जटिल हुनुअगावै उपचार गर्ने भनेर होल बडी स्वास्थ्य परीक्षणको प्रचार र व्यवसाय चलेको छ । जीवनशैली र खानपानसँग सम्बन्धित रोगको प्रभाव दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा व्यक्तिगत स्वास्थ्य र जनस्वास्थ्यकै हिसाबले पनि गुणस्तरीय र सुलभ निरोधात्मक स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण छ । तर, त्यसले दिन सक्ने फाइदा आममानिसले बुझेको भन्दा धेरै फरक छन् । ‘होल बडी’ अर्थात् सम्पूर्ण शरीर । यसैले अधिकांश सेवाग्राहीले ‘होल बडी’ जाँचको अर्थ शरीरका सबै अंगमा भइरहेका वा हुन सक्ने सुषुप्त वा सक्रिय सबैथरी रोगको पहिचान अचुक रूपमा गर्ने जाँच भनेर बुझ्ने गर्छन् । तर, यो नेपालमा स्वास्थ्य क्षेत्रमा फैलिन दिइएका सबैभन्दा ठूला भ्रममध्येको एक हो ।
होल बडी धन्दाको बजार
भारत र थाइल्यान्डजस्ता दक्षिण र दक्षिण–पूर्वी एसियाका अधिकांश देशमा नाम चलेका सरकारी र गैरसरकारी अस्पताल र सबुतमा आधारित चिकित्सा पढाउने भनिएका शिक्षण अस्पताल पनि आर्थिक मुनाफाको यो चोक्टा लुछ्न तँछाडमछाड गरिरहेका छन् । ‘होल बडी’ जाँचको यो रोग अहिले नेपालमा फैलिरहेको छ । अचेल वित्तीय कम्पनीले ग्राहकलाई निश्चित प्रकारका स्वास्थ्य बिमा सुविधा दिने गर्छन् । यस्तो सुविधाको उपयोग गर्दै हजारौँले ‘होल बडी’ जाँच गराउँछन् । सरकारले चलाएको स्वास्थ्य बिमामार्फत पनि यस्तो जाँच गराउने हजारौँ होलान् भन्ने अनुमान गर्न सकिन्छ । धेरैथरी रोजगारदाताले पनि दक्ष जनशक्ति आफ्नो संस्थामा काम गर्न आऊन् भनेर कर्मचारीका लागि स्वास्थ्य बिमा वा स्वास्थ्य सेवासम्बन्धी सुविधा उपलब्ध गराएका हुन्छन् । यस्ता रोजगारदाताले अस्पतालसँग आफ्ना कर्मचारीका लागि आफूले छानेका केही स्वास्थ्य जाँचको ‘प्याकेज’ मोलतोल गरेर लिएका हुन्छन् । कर्मचारीलाई रोजगारदाताले दिलाएको प्याकेजमा कति आवश्यक र कति अनावश्यक जाँच छन् भनेर छुट्याउनुभन्दा बरु जाँचको सुविधाको उपयोग नगर्दा सुविधा खेर जाला भन्ने हुन्छ ।
होल बडी मोडेलका समस्या
कुनै रोगको लक्षण नभईकन खालि आफ्नो तन्दुरुस्तीको परीक्षण (वेलनेस चेकअप) गराउन चाहने मान्छेलाई केही खास प्रकारका जाँचले मात्र स्वास्थ्यबारे उपयोगी सूचना दिन सक्छन् । यस्ता जाँचका केही निश्चित विशेषता हुन्छन् । कुनै लक्षण नभएको मान्छेमा महामारी विज्ञान (एपिडिमियोलोजी)का हिसाबले त्यस व्यक्तिलाई लाग्ने जोखिम बढी भएको रोगप्रति लक्षित जाँच मात्र उपयोगी हुन्छ । जस्तै, प्रौढ उमेरकालाई मात्र बढी लाग्ने रोगको जाँच तन्नेरीमा गराउनुभएन । कुनै रोग निश्चित जातीय वा क्षेत्रीय समुदायमा बढी देखिन सक्छ र उनीहरूलाई ती जाँच गराउनु बढी उपयुक्त हुन्छ । जस्तैः थारू समुदायमा ‘सिकल सेल अनिमिया’को जाँच वा कर्णाली अञ्चलका निश्चित क्षेत्रका मानिसलाई ‘हेपाटाइटिस बी’को परीक्षण ।
यस दृष्टिकोणबाट व्यक्तिको लिंग, उमेर समूह आदिका आधारमा थोरै जाँच मात्र उपयोगी हुन सक्छन् । मुलुकका अस्पतालमा सबै उमेर समूहका व्यक्तिलाई बेचिने एउटै ‘होल बडी प्याकेज’का जाँच अनावश्यक छन् । अनुपयोगी जाँचका उदाहरणमा ३५ वर्षका युवामा गरिने इसिजी, कार्डियाक स्ट्रेस टेस्ट आदि मुटुरोगका जाँच, ४० वर्षका पुरुषलाई गरिने प्रोस्टेटको जाँच, ३५ वर्षे महिलालाई स्तनको क्यान्सरको परीक्षणका लागि गरिने अल्ट्रासाउन्ड आदि पर्छन् । एकछिनलाई मानौँ, उमेर, लिंगको हिसाबले कसैमा लाग्ने सम्भावना बढी भएकै रोगका लागि कुनै जाँच गरिएछ, तर त्यो जाँचले फाइदा हुन्छ हुँदैन भन्नलाई त्यो जाँचको सही रूपमा रोग पत्ता लगाउन सक्ने क्षमता कति छ, त्यसले पत्ता लगाउन सक्ने रोग आयु घटाउन सक्ने वा अपांग बनाउन सक्ने गम्भीर प्रकृतिको हो कि होइन, त्यो जाँचले रोग केही समयअगावै पत्ता लगाएपछि पनि समग्रमा त्यसले बिरामीको आयु लम्बिने सम्भावना छ कि छैन आदि पनि विचार गर्नुपर्छ ।
‘होल बडी प्याकेज’का जाँच अनावश्यक छन्, अनुपयोगी जाँचका उदाहरणमा ३५ वर्षका युवामा गरिने इसिजी, कार्डियाक स्ट्रेस टेस्ट आदि मुटुरोगका जाँच, ४० वर्षका पुरुषलाई गरिने प्रोस्टेटका जाँच, ३५ वर्षे महिलालाई स्तनको क्यान्सरको परीक्षणका लागि गरिने अल्ट्रासाउन्ड आदि पर्छन्
कुनै पनि जाँच अचुक वा पूर्ण रूपमा सही हुँदैन । सबै जाँचले गलत पोजिटिभ र गलत नेगेटिभ नतिजा दिन सक्ने सम्भावना हुन्छ । अर्थात् रोग नभए पनि जा“चमा पोजिटिभ देखिने, वा रोग भए पनि जाँचमा नेगेटिभ देखिने सम्भावना रहन्छ । अधिकांश जाँचमा यस्तो गलत नतिजा दिन सक्ने सम्भावना तपाईं–हामीले सोचेभन्दा निकै बढी हुन्छ । जस्तो, रोगको लक्षण नदेखिएको ३० वर्षे व्यक्तिको पेटको अल्ट्रासाउन्ड गर्दा कलेजोमा क्यान्सरको शंका गरिने सानो दाग देखियो भने त्यो क्यान्सर हुनेभन्दा नहुने सम्भावना धेरै बढी हुन्छ । तर, दाग देखिइसकेपछि सिटी स्क्यान, बायप्सी आदि जा“च गर्नैपर्यो । अन्त्यमा त्यो डल्लो क्यान्सर वा कुनै गम्भीर रोग नभएको प्रमाणित होला, तर त्यो प्रमाणित गर्न गरिने सिटी स्क्यान गर्नलाई रक्तनलीमा सुईबाट दिइने कन्ट्रास्टले मिर्गाैला बिगारेर डायलाइसिस गर्नुपर्ने अवस्थामा पुग्न सक्छ । बायप्सी गर्दा रक्तश्राव भएर ज्यानै जान सक्ने अवस्था पनि आउन सक्छ ।
मानौँ, प्रोस्टेटको निम्ति गरिने रक्तपरीक्षण ‘पी एस ए’ बढेको देखिएपछि कुनै ७० वर्षे व्यक्तिको प्रोस्टेट बायप्सी गरेर प्रोस्टेट क्यान्सरको निदान भएछ । यसरी ती व्यक्तिको सन्दर्भमा रोगको निदान गर्न रक्तपरीक्षण प्रभावकारी देखियो । तर, प्रोस्टेट क्यान्सर यस्तो रोग हो, जसको सम्भावना पुरुषमा उमेरअनुसार बढ्दै जान्छ । तर, अधिकांश रोगीमा एकदम ढिलो बढ्ने वा फैलिने हुनाले यसले रोगीको आयु घटाउने गर्दैन । वृद्धावस्थामा प्रोस्टेट क्यान्सर देखिएका रोगीको मृत्यु प्रायः जसो क्यान्सरले भन्दा मुटुरोग, दम, पक्षघात आदि कारणले हुने गर्छ । त्यसैले ती ७० वर्षे पुरुषको प्रोस्टेट क्यान्सरको निदान भए पनि उनलाई त्यसले कुनै तात्विक फाइदा नहुने सम्भावना ठूलो हुन्छ, अर्थात् रक्त परीक्षण गरेर केवल अनावश्यक मानसिक तनाव र बायप्सीले हुने खतरा मात्र बेहोर्नुपर्ने हुन सक्छ । नेपालमा लगभग हरेकजसो अस्पतालका प्याकेजमा कुनै लक्षण नभएका मानिसलाई गराइने जाँचः जस्तै, युवतीलाई गराइने स्तनको अल्ट्रासाउन्ड, लगभग सबैलाई गराइने पेटको अल्ट्रासाउन्ड (भिडियो एक्सरे), इकोकार्डियोग्राम, मुटुको स्ट्रेस टेस्ट (टिएमटी), रगतमा युरिक एसिड, थाइरोइड हर्मोनको परीक्षण, विविध क्यान्सर एन्टिजेन आदि अनगिन्ती परीक्षण अधिकांश व्यक्तिलाई माथि उल्लिखित कारणले फाइदाभन्दा बेफाइदा धेरै हुन सक्ने जाँच हुन् ।
कुनै रोगको लक्षण नदेखिएको व्यक्तिलाई पेटको अल्ट्रासाउन्ड गर्दा पित्तथैलीमा ढुंगा वा प्रोस्टेटको नाप बढेको देखियो भने पनि पित्तथैली वा प्रोस्टेटको शल्यक्रिया गरेर वा औषधि खाएरभन्दा केही नगरी त्यत्तिकै छोडिदिँदा बढी सुरक्षित हुन्छ भनेर अध्ययनले देखाएका छन् । कसैलाई ढुंगाको कारणले पेट दुख्न थालेको छ, वा प्रोस्टेट बढेको कारणले पिसाबसम्बन्धी लक्षण सुरु भएको छ भने मात्र शल्यक्रिया गर्नु वा औषधि खानुको औचित्य हुन्छ । त्यसैले कुनै लक्षण नै नभएको व्यक्तिमा अल्ट्रासाउन्डले त्यस्तो कुनै लाभदायी सूचना दिन सक्दैन, जसले उसको दीर्घकालीन स्वास्थ्यको हित गरोस् । हामी चिकित्सकले पटक–पटक यस्ता ‘बिरामी’ भेट्छौँ, जसले बिल्कुल अनावश्यक परीक्षण गराउँदा झुक्किएर भेटिएका नगन्य समस्याका लागि बिल्कुल अनावश्यक ठूला शल्यक्रिया गराएका छन् । वा, वर्षौंदेखि अनावश्यक औषधि खाइरहेका हुन्छन् । यस्ता अनावश्यक उपचारबाट बिरामीको स्वास्थ्य र जीवनलाई नै हुने खतराको लेखाजोखा नेपालमा कसैले गरेको छैन ।
अहिले चल्तीमा रहेका सेवाग्राहीको गच्छेअनुसार खर्च गराउने प्याकेज स्वास्थ्य परीक्षणका मोडेलको अर्को ठूलो समस्या के हो भने यस्ता प्याकेजमा सेवाग्राहीलाई उसको उमेर, लिंगअनुसार हुने विविध रोगको जोखिमको आधारमा गराउनैपर्ने कतिपय आवश्यक जाँच भने राखिएकै हुँुदैनन् । फलतः सेवाग्राहीले पैसा त निकै खर्च गर्छन्, तर आफूलाई जोखिम भएका रोगबारे भने परीक्षण पनि गराउन पाउँदैनन् । जस्तो, कतिपय स्वास्थ्य सेवाका प्याकेजमा हड्डी पातलो हुने समस्याको जाँच, पाठेघरको मुखको प्याप स्मियर, कोलोनोस्कोपी आदि नै गराइएको हुँदैन । कतिपय प्रयोगशालाका प्याकेजमा अनेकथरी महँगा जाँच त समाविष्ट हुन्छन्, तर रक्तचापको परीक्षण वा डाक्टरले गर्ने शारीरिक परीक्षण भने हुँदैनन् ।
साथै, भनिएका हरेक जाँच बर्सेनि गर्नु आवश्यक हुँदैन । प्रकृतिअनुसार २, ३, ५ वर्षको फरकमा निश्चित जाँच गराउनु उपयुक्त हुन सक्छ । यसैले उपयुक्त भनिएकै जाँच पनि ६–६ महिनामा वा बर्सेनि गराउने प्रचलन सही हुँदैन । निरोधात्मक स्वास्थ्य सेवाको अर्को अपरिहार्य पक्ष हो, खोप । वयस्कले पनि लिंग र उमेरअनुसार विभिन्न खोप लगाउँदा धेरैलाई हुन सक्ने विभिन्न प्राणघाती क्यान्सर वा संक्रमणबाट बच्न सकिन्छ । विकसित देशमा उमेरअनुसार यस्ता खोप सबैले लगाउँछन् । जस्तै, पाठेघरको मुखको क्यान्सरबाट जोगाउने ‘एचपिभी’ खोप, न्युमोनियाबाट मृत्यु हुनबाट जोगाउने ‘न्युमोकोक्कस’विरुद्धको खोप, इनफ्लुइन्जाविरुद्धको खोप, टिटानस, लहरेखोकी र डिप्थेरियाविरुद्धको खोप आदि । हाम्रो मुलुकमा सरकारको आर्थिक क्षमता कमजोर भएकाले साना बालबालिकालाई खोप दिने राष्ट्रिय कार्यक्रममा पनि अझै कतिपय अत्यावश्यक खोप सामेल गर्न सकिएको छैन । त्यसैले युवा र वयस्कलाई सरकारले खोप दिन थाल्ने अपेक्षा अहिले गर्न सकिन्न । तर, जसले आफ्नै खल्तीबाट बर्सेनि स्वास्थ्य परीक्षणमा हजारौँ रुपैयाँ खर्च गर्छन्, उनीहरूले गरेको खर्चको केही अंश केही अति उपयोगी खोपमा प्रयोग गर्ने हो भने सेवाग्राहीले स्वास्थ्यमा गरेका लगानीलाई धेरै प्रभावकारी बनाउन सकिन्थ्यो ।
हामी चिकित्सकले पटक–पटक यस्ता ‘बिरामी’ भेट्छौँ, जसले अनावश्यक परीक्षण गराउँदा झुक्किएर भेटिएका नगन्य समस्याका लागि ठूला शल्यक्रिया गराएका छन् वा वर्षौंदेखि अनावश्यक औषधि खाइरहेका हुन्छन्
कसरी गर्ने त निरोधात्मक स्वास्थ्य परीक्षण ?
विकसित देशमा हामीकहाँ प्रचलित मोडेलको ‘होल बडी’ जाँच हुँदैनन् । कसैले त्यसरी अनावश्यक जाँच गरायो भने बिरामीमा पर्न सक्ने हानिका आधारमा जाँच गराउने चिकित्सक वा स्वास्थ्य संस्थालाई सरकार, अदालत वा मेडिकल काउन्सिलले कारबाही गर्छन् । विकसित देशमा हुने निरोधात्मक स्वास्थ्य सेवामा त्यस्ता जाँच मात्र सामेल गरिएको हुन्छ, जुन ठूला क्लिनिकल ट्रायलजस्ता अनुसन्धानबाट प्राप्त सकेसम्म धेरै वैज्ञानिक तथ्यांकहरूको आधारमा व्यक्तिको लिंग वा उमेरअनुसार उपयोगी भनेर प्रमाणित भएका हुन्छन् । नियमित निरोधात्मक सेवाको निम्ति कुन जाँचको उपादेयता कति छ भन्ने विषयमा सरकारले वा स्वार्थको द्वन्द्व नहुने सरोकारवालाका समूहले उपलब्ध वैज्ञानिक तथ्यांकको अध्ययन र विश्लेषण गर्न विशेषज्ञका टोलीलाई खटाएका हुन्छन् । टोलीले उपलब्ध सबै प्रमाण र तथ्यांकको समष्टीगत अध्ययन गरेर कुन परीक्षण कस्ता सेवाग्राहीका निम्ति कति समयको अन्तरालमा गराउनु उपयुक्त हुन्छ भन्ने मार्गदर्शक दस्ताबेज बनाएका हुन्छन् । चिकित्सक र स्वास्थ्य संस्थाले तिनै दस्ताबेजले भनेमुताबिकका परीक्षण मात्र गराउँछन् । यहाँ विभिन्न स्वास्थ्य परीक्षणका औचित्य वा अनौचित्य पुष्टि हुने खालका अध्ययन बिरलै भएका छन् । तै पनि विकसित देशकै अनुभव र तथ्यांकका आधारमा भए पनि स्वस्थ नेपालीमा उपयुक्त हुने खालका जाँच र उमेरअनुसारका आवश्यक खोप पनि समावेश गरेर निरोधात्मक स्वास्थ्य सेवा दिलाउने प्रयास सीमित रूपमा सुरु हुन थालेको छ ।
अब के गर्नुपर्छ ?
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा दिनका निम्ति अनावश्यक स्वास्थ्य परीक्षण र उपचार नगर्ने र आवश्यक उपचार सकेसम्म नछुटाउने विषयको महत्व बुझ्न गाह्रो छैन । सेवाग्राहीका निम्ति उपयोगी परीक्षण मात्र सामेल गरिएको निरोधात्मक स्वास्थ्य सेवा नैतिक र व्यावसायिक मर्यादाअनुरूप जायज हुन्छन् भन्ने चेतना चिकित्सक र अन्य स्वास्थ्यप्रदायक, स्वास्थ्य संस्था, नियामक निकाय र आमनागरिकमा जाग्नैपर्छ । निजी अस्पताल र व्यक्तिगत पहलमा यस्ता प्रयास सुरु भएका पनि छन् । तिनको अनुभवबाट अन्य स्वास्थ्य संस्थाले सिकेर आफूले दिने निरोधात्मक स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सक्छन् । आफ्ना कर्मचारी वा सेवाग्राहीलाई उपयुक्त निरोधात्मक स्वास्थ्य सेवाको प्याकेज खोज्ने विभिन्न रोजगारदाता संस्था, बैंक वा वित्तीय संस्था, स्वास्थ्य बिमा कम्पनी आदिले पनि गुणस्तरीय र सुरक्षित निरोधात्मक सेवा दिने अस्पताल वा क्लिनिकसँग मात्र सम्झौता गर्छौं भनेर उनीहरूसँग कारोबार गर्न इच्छुक सेवाप्रदायकले ‘प्याकेज’मा आवश्यक जाँच मात्र राख्न र उपयोगी खोप पनि समावेश गर्न तँछाडमछाड गर्नेछन् नै ।
सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमको ठूलो धनराशि अनेक अनावश्यक जाँच भएका ‘प्याकेज’मा दुरुपयोग भइरहेको छ । यसले न समाजका स्वास्थ्य सूचकमा सुधार ल्याउँछ, न बिमा कार्यक्रमलाई आर्थिक रूपले टिकाउ बनाउँछ । सरकारले पनि स्वास्थ्य बिमा कार्यक्रममार्फत आवश्यक जाँच मात्र भएका निरोधात्मक स्वास्थ्य सेवालाई मात्र भर्पाई गर्छौं भन्न सक्छ । त्यसका अलावा विज्ञको टोली गठन गरेर नेपालको सन्दर्भमा पुरुष र महिलामा कुन–कुन उमेर समूहका निम्ति कुन–कुन जा“च र निरोधात्मक स्वास्थ्य सेवा जायज वा उपयोगी हुन् भन्ने निर्देशिका तयार गराउने र त्यसमा समयानुकूल परिमार्जन गराउने गर्न सक्छ । अन्त्यमा, मुलुकका मौलिक जातीय, सांस्कृतिक, क्षेत्रीय र भौगोलिक विविधताका कारण पश्चिमा मुलुकका अध्ययनमा आधारित निरोधात्मक स्वास्थ्य सेवाका अभ्यासलाई सीधै यहाँ अनुकरण गर्नु उचित नहुन सक्छ । ती मुलुकभन्दा फरक हावापानी, खानपिन, जीवनशैली र नश्लीय विशेषता भएको नेपालमा विभिन्न प्रकारका संक्रामक रोग, क्यान्सर, मुटुरोग, मधुमेह वा अन्य नसर्ने रोगका जोखिम फरक हुन्छन् । यसैले सर्ने र नसर्ने रोगका जोखिमबारे तथ्यांक संकलन गरियो भने यहाँको निरोधात्मक स्वास्थ्य सेवाका प्राथमिकता, गर्नुपर्ने जाँच वा जाँचबीचको अन्तराल ती मुलुकमा भन्दा फरक देखिन सक्छन् ।
मुलुकभित्रै पनि फरक क्षेत्र र समुदायलाई फरक प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने हुन सक्छ । जस्तै, उपयुक्त अध्ययन गरियो भने हिमाली भेगमा नुन चियाको प्रचलन आदि कारणले उच्च रक्तचापको निदान गर्न बढी सक्रियता चाहिने देखिन सक्छ । कर्णाली अञ्चलका निश्चित समुदायलाई हेपाटाइटिस बीको संक्रमण हुनै नदिन वा शीघ्र निदान गर्न र थारू समुदायमा सिकल सेल रक्तअल्पता (अनिमिया)को निदान गर्न बढी केन्द्रित हुनुपर्ने देखिएला । पश्चिमी देशमा आवश्यक नपर्ने टाइफाइडविरुद्धको खोप सम्भवतः यहाँका सबै बालबालिका र तन्नेरीले लगाउनु उपयोगी देखिन सक्छ । यसर्थ, स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकाय र देशका स्वास्थ्यसम्बन्धी शैक्षिक र अनुसन्धानात्मक संस्थाले नेपालका लागि उपयुक्त निरोधात्मक स्वास्थ्य सेवाका यी विविध पाटामा अनुसन्धान गरेर उपयोगी तथ्यांक र सूचना ल्याउन प्राथमिकता दिनुपर्छ ।
(लेखक संक्रामक रोग विशेषज्ञ हुन्)
-नयाँपत्रिका दैनिकबाट साभार
प्रकाशित मिति: २८ पुष २०७६, सोमबार १३:५१