चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा आएपछि स्थानीय हर्षित

कभरखबर डेस्क ।
चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा निर्माण सम्पन्न गरिएको आकासे पुल जिल्लाकै पहिलो हो । रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको यो पुलको शनिबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गर्नुभयाे ।
बजारलाई आधुनिकीकरण र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नगरको गौरवको योजनाभित्र राखेर आकासे पुल निर्माण गरिएको उहाँले बताउनुभयाे ।
पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने गरी ४२.३ मिटर लम्बाइ, ५.३ मिटर उचाइ, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिनुभयाे ।
दुई करोड ३९ लाख ९२ हजार दुई सय ७० रुपैयाँ लागतमा पुल निर्माण गरिएको हाे। पुल निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो । २ फागुन ०७६ मा पाँच महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइए पनि कोभिडका कारण पुस मसान्तसम्मका लागि पुल निर्माणको समय थप गरिएको थियो ।