एमालेका दुवै पक्षबीच विवाद मिलाउन धुम्बाराहीमा वार्ता

कभरखबर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता शुरू भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल सुरु भएको हो ।

वार्तामा ओलीका तर्फबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदिय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली रहने छन्छर भने नेपाल पक्षबाट नेपाल सहित सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी हुनुहुन्छ । ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएकाे थियाे ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद विघटन गर्नुभएकाे थियाे । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए । विभाजनसँगै नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल एउटै पार्टीमा आइपुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता-कार्यकर्ताले लिएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार १२:५४