राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने

काठमाडाैं ।

प्रत्येक १० वर्षमा केन्द्रीय तथ्याङ्क विभागद्वारा हुने राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने भएको छ । आउँदो सालमा तराईमा पुसदेखि फागुनसम्म र हिमाली जिल्लामा आउँदो २०७९ को वैशाखदेखि असारसम्म जनगणना हुने बताइएको छ ।

जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरद्वारा सो गणनाका तयारी सम्बन्धमा सरोकारवालाहरुसँग आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यालयका प्रमुख राजेश दासले कृषि गणनाको उद्देश्य, गणना विधि, कृषिमा पर्ने प्रभाव, कृषिको चलनचल्ती, कृषिबाट हुने उत्पादन, आम्दानी, लगाइने बाली, ढुवानी, बजार व्यवस्था, बिक्री तथा भोग्नुपर्ने समस्यालगायत विषयमा गणना गरिने जानकारी दिनुभयकाे छ ।

एफएओ र डब्लुपिसिएको मार्ग दशर्नका आधारमा गरिने सो गणनामा तीन लाख २५ हजारदेखि तीन लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक लीला मिश्रले बताउनुभयाे ।

 

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलवार १३:५५