वैदेशिक रोजगारीमा जाँदा सिप सिकाएर पठाउँदै (सामी)

कभरखबर डेस्क ।

वैदेशिक रोजगारीमा जाँदा सिप सिकेर जानु पर्छ भन्दै सुरक्षित आप्रवासन परियोजना (सामी)ले वैदेशिक रोजगारीमा जाने युवाहरुलाइ सिप सिकाउने र मनोपरामर्श दिने गरेको छ ।

देशमा रोजगारीको समस्या भएकाले विदेसिनुपर्ने बाध्यतामा रहेकाहरुले सिप सिकेर जाँदा कुनैपनि समस्यासंग जुध्न सकिने भएकाले सिप सिकाएर विदेश जाँदा धेरै समस्या न्युनिकरण हुने डेभलपमेन्ट सोसाइटीका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले खलंगामा आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले विदेश जानेहरुका निम्ती विभिन्न काममा सम्झौता हुने र त्यहाँ पुगेपछि सम्झौता अनुसारको काम गर्न नसकेपछि कम्पनी छोडेर बाहिर निस्कनुपर्ने बाध्यताका कारण वैदिशिक रोजगारीमा जाँदा सिप सिक्नुपर्नेमा अनिवार्य रहेको बताउनुभयो ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुन, बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुन, छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष सिता केसी, शारदा नगरपालिका २ का अध्यक्ष केशव सिंह श्रेष्ठले मन्तव्य व्यक्त् गर्नु भएको थियो ।

कार्यक्रममा परियोजना वित्तिय साक्षरता संयोजक सनत सापकोटाले सिप सिकाएर मात्रै विदेश पठाउनुपर्ने, विदेशमा सुरक्षित कसरी बन्न सकिन्छ, विदेशमा कमाएको पैसालाइ कसरी परिचालन गर्ने, सामाजिक तथा घरायसी समस्या समाधान जस्ता विषयमा काम गर्ने बताउनुभयो ।

जिल्लाबाट वैदेशिक रोजगारीमा रहेका व्यक्ति र उनका आफन्तका निम्ती परियोजनाले विभिन्न काम गरिरहेको छ । गत बर्ष चैतबाट शुरु भएको परियोजनाले कोरोना र लकडाउनका कारण लक्ष्य भेट्न नसकेपनि विभिन्न गतिविधि गरेको परियोजना जिल्ला संयोजक विमल गौतमले बताएका छन ।

आप्रवासी स्रोतकेन्द्र मार्फत जिल्लामा ६ सय ९० जनालाइ वैदेशिक रोजगारीमा हुने समस्याका विषयमा परामर्श गरिएको, विभिन्न स्थानमा अभिमुखिकरण, वित्तिय साक्षरता कक्षा संचालन जस्ता काम गरेको उहाँले जानकारी दिनुभयो ।

सल्यानमा सामी परियोजना शारदा, बागचौर र बन्गाड कुपिण्डे गरी ३ नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा संचालनमा छ ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलवार २१:२५